पोखरामा कोटीहोम जारी, राधेगुरुलाई सम्मान

  • पोखरा न्यूज
  • २०८१ मंसिर २५
पोखरामा कोटीहोम जारी, राधेगुरुलाई सम्मान

पोखरा । पोखरामा जारी कोटीहोममा अमेरिकाबाट आएका पोखराका शोभाकान्त ढकाल (राधेगुरु) लगायतलाई सम्मान गरिएको छ ।

कोटीहोममा आध्यात्मिक एवं सामाजिक विकासका लागि स्वदेश र विदेशमा रहँदा मानवीय सहयोग जुटाएकोमा पोखरा वृद्धाश्रमसहित पोखराका विभिन्न संघसंस्थाका तर्फबाट राधेगुरुलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो ।

राधेगुरुले आफूले २८ बर्ष अगाडि पोखरा वृद्धाश्रममा यस्तै शुभकार्य गरेको स्मरण गर्दै असहाय, बेवारिसे आमा बुवाका लागि स्थापना गरिएको आश्रमको विकास देख्दा अचम्मका साथै हर्षित बनेको बताए ।

कोटीहोममा विश्व हिन्दू महासंघका सल्लाहकार भगिरथ योगीले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु साझा कर्तव्य भएको बताए ।

कार्यक्रममा अन्नपूर्णेश्वर शिवालय, शिवशक्ति धाम, पटनेरी टोल विकास संस्था, जागृति आमा समूह, नमुना आमा समूह, गण्डकी रिभरसाईड युवा क्लबलगायतको सहभागिता थयो ।

पटनेरीमा स्थापना गरिएको अन्नपूूर्णेश्वर धाम एवं शिवालय मन्दिरकोे प्राण प्रतिष्ठाको कोटीहोममा बाल बालिकाको निःशुल्क ब्रतवन्ध र ज्येष्ठ नागरिकको चौरासी पूजासमेत गरिएको आयोजकले जनाएको छ ।

कोटीहोममा भक्तजनको आकर्षण दिनानुदिन बढिरहेको कोटीहोम कार्यक्रम संयोजक मदन गिरीले जानकारी दिए । कोटीहोम मंसिर २७ गतेसम्म चल्नेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस