पोखरालाई खेलकुदको राजधानीका रुपमा विकास गर्नुपर्छः मन्त्री चौधरी

  • पोखरा न्यूज
  • २०८१ मंसिर २६
पोखरालाई खेलकुदको राजधानीका रुपमा विकास गर्नुपर्छः मन्त्री चौधरी

पोखरा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको राजधानीका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याव्सन) कास्कीद्वारा पोखरामा आयोजित १४औँ एनप्याव्सन खेलकुद महोत्सवको उद्घाटन गर्दै उनले पोखराले खेलकुदका धेरै सम्भावना बोकेको बताए ।

“पोखरा पर्यटनको राजधानीसँगै यहाँ हुने हरेक खेलकुदका कार्यक्रममा खेलकुद राजधानीका रुपमा जोडेर लान जरुरी छ”, उनले भने ।

उनले थपे, “पोखरालाई खेलकुदको राजधानी बनाउनका लागि मन्त्रालयबाट पनि सहयोग रहने छ ।”

निजी तथा आवासीय विद्यालयले गरेको खेलकुदका गतिविधिले नै खेलाडी उत्पादन गर्न सकेको उनले बताए ।

पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपिएल)ले खेलकुदमा भविष्य छ भन्ने देखाएको बताउँदै उनले विद्यार्थीलाई पढाइसँगै खेल क्षेत्रमा सहभागी बन्न आग्रह गरे ।

एनप्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले विद्यार्थीलाई सवल र सक्षम बनाउनका लागि खेलकुद अपरिहार्य भएको बताउँदै यस्ता खालका कार्यक्रमबाट नै निजी विद्यालयतर्फ आकर्षण बढाएको उल्लेख गरे ।

‘एनप्याब्सन कास्कीको इच्छा : विद्यालय तहमा खेलकुदसहितको शिक्षा’ भन्ने मूल नाराका साथ सुरु भएको खेलकुद महोत्सव २८ गतेसम्म चल्ने छ ।

महोत्सवमा ४६ विद्यालयका लगभग आठ हजार पाँच सय खेलाडी विद्यार्थी (झण्डै चार हजार छ सय छात्र र तीन हजार नौ सय छात्रा) मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

जुनियरतर्फ एक हजार एक सय ५० छात्र र एक हजार एक सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियरतर्फका खेलमा तीन हजार दुई सय छात्र र दुई हजार छ सय छात्राले सहभागी जनाउने छन् ।

त्यसैगरी कक्षा ११ र १२ तर्फ दुई सय ५० छात्र र एक सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् ।

खेलकुद महोत्सवमा कुल नौ सय २९ जना विद्यार्थी पुरस्कृत हुनेछन् । कुल दुई सय ५१ स्वर्ण पदक, दुई सय ५१ रजत पदक र चार सय २७ कास्य पदकका लागि विभिन्न नौ खेलमा प्रतिस्पर्धा हुनेछ ।

यसपटक सडक दौड र पुरुष क्रिकेटलाई समावेश गरिएको जनाइएको छ । फुटबल, बाँस्केटबल, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स खेलमा प्रतिष्पर्धा गराइनेछ ।

एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शिक्षा निर्देशनालय गण्डकी प्रदेशका प्रमुख अम्बिकाप्रसाद आचार्य, नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष मनकाजी गुरुङ, सचिव प्रेमराज अधिकारी, शिवराज पौडेल र तोलाकान्त न्यौपानेलगायतले बोलेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस