रवि र छविलाई अदालतमा उपस्थित गराइँदै, के हुन्छ अबकाे प्रक्रिया ?

  • पोखरा न्यूज
  • २०८१ मंसिर २७
रवि र छविलाई अदालतमा उपस्थित गराइँदै, के हुन्छ अबकाे प्रक्रिया ?

पाेखरा। सहकारी ठगीसहित चार वटा अभियोगमा प्रहरीको हिरासतमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको हो ।

पछिल्लो पटक थपिएको चार दिनको म्याद आज सकिने भएसँगै थप केही समय हिरासतमा राखेर अनुसन्धान गर्ने गरी म्याद थप गराउन लागिएको हो ।

उनी सहकारी ठगी प्रकरणमा कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । त्यहाँबाट पोखरा ल्याई ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।

सहकारी ठगीबारे पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको बयान सकिएसँगै पाँच ओटै सहकारीको बयान सकिएको छ ।

तत्कालका लागि सहकारीको बयान सकिएको भए पनि उनीमाथि लागेका संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको अनुसन्धान पनि चलिरहेको छ । उक्त प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने प्रहरीले अनसन्धानकै क्रममा रहेको बताएको छ ।

अनुसन्धान सकिएपछि उनीविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नुपर्नेछ ।

पाँच जिल्लामा छुट्टाछुट्टै उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भइ सरकारी वकिलको कार्यालयले बयान लिएको भएपनि अब भने पाँच ओटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् ।

सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी व्यवस्था रहेको छ ।

रविसँगै उनका गोर्खा मिडिया प्रालिका साझेदार पूर्व डीआईजी छविलाल जोशीसमेत असोज ६ गतेदेखि नै प्रहरीको थुनामै छन् ।

९० दिन थुनामा राख्न पाउने भएकाले छविको हिरासत समय सकिन १० दिनमात्र बाँकी छ ।

१० दिन भित्रै छवि र रविका बारेमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्नेछ ।

पाँच वटै जिल्ला अदालतले साधारण तारेख वा धरौटीमा छोड्ने आदेश दिए मात्रै उनीहरु थुनामुक्त हुनेछन् ।

पाँचमध्ये कुनै एउटा अदातलले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे भने थुनाका लागि कारागार चलान हुनेछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस