महिला एसिया कप : पाकिस्तानमाथि नेपालको शानदार जित

  • पोखरा न्यूज
  • २०८१ पौष १
महिला एसिया कप : पाकिस्तानमाथि नेपालको शानदार जित

पाेखरा। यू-१९ महिला एसिया कप टी-२० क्रिकेटमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १०४ रन बनायो ।

ओपनर कोमल खानले ४२ बलमा ३८ तथा महम एन्नेसले ३९ बलमा २९ रन बनाइन् ।

नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचनाकुमारी चोधरी, रिया शर्मा तथा सीमना केसीले १-१ विकेट लिए ।

जवाफमा १०५ रनको सामान्य चुनौती नेपालले १९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गर्दै ४७ बलमा अविजित रहँदै ४७ रन बनाइन् ।

त्यस्तै सोनी पाख्रिनले १३ तथा सीमना केसीले अविजित रहँदै १२ बलमा १२ रन बनाइन् ।

पूजा महतोको कप्तानीमा नेपालले पहिलो पटक विश्वकप टी-२० क्रिकेटमा स्थान बनाएको छ ।

विश्वकपमा छानिएसँगै नेपालले पहिलो पटक आयोजना भएको टी-२० एसिया कपमा पनि स्थान बनाएको हो ।

नेपालले मंगलबार बिहान ११ः४५ बजे भारतसँग खेल्दैछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान रहेका छन् ।

भारतले यसअघि पाकिस्तानलाई ९ विकेटले हराएको थियो । दुवै खेल हारेसँगै पाकिस्तान बाहिरिएको छ भने नेपाल र भारतसँग खेल्नुअघि नै सुपर फोरमा पुगेको छ ।

अर्को समूहमा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । श्रीलंका एक जित र एक हारसहित सुपर फोरमा पुगेको छ ।

बंगलादेशले एक खेल जितेको छ भने अन्तिम भिडन्त मलेसियासँग हुँदैछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस