प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता गुरुङको सम्झना

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले स्व. डीलबहादुर गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुशरण गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा नं १४ द्वारा पोखरामा सोमबार आयोजित स्व. गुरुङको श्रद्धाञ्जली कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका छन् ।

उनले स्व. गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाज र पार्टीको विकासका लागि पुर्याएको योगदानको चर्चा गर्दै राजनीतिलाई पद र प्रतिष्ठा भन्दा पनि समाजको परिर्वतनको मूल नीतिका रुपमा लैजानुपर्छ भन्ने स्व. गुरुङको सोचलाई पुरा गर्ने जिम्मेवारी हामीमा आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले स्व. गुरुङको राजनीति सोँच र व्यक्तित्वले कांग्रेसलाई सधैँ अभिभावकत्व दिइरहेको अवस्थामा उनको निधनले पार्टीलाई ठूलो क्षति भएको बताए ।

गण्डकी प्रदेशका सांसद रेखा गुरुङले स्व. गुरुङ राजनीतिक चिन्तकमात्र नभई समाजिक अभियान्ताका रुपमा रहनुभएको स्मरण गरे ।

पर्वत कांग्रेसका नेता नवराज गुरुङले स्व. गुरुङ विकासप्रेमी नेता भएको बताए ।

कार्यक्रममा स्व. गुरुङका कान्छा छोरा शेरबहादुर गुरुङले आफ्ना पिताले परिवारलाई मात्र नभई समाजलाई नै संस्कार दिएर जानुभएको बताए । उनी सबै क्षेत्रमा प्रेरणाको श्रोतका रुपमा रहनुभएको गुरुङले बताए ।

पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आएका गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं कांग्रेस बुढाका नाममा प्रख्यात थिए ।

वडा नं १४ का अध्यक्ष रुद्रमोहन रिमालले तत्कालीन समयमा स्व. गुरुङ नेपाली कांग्रेसको मियोको रुपमा रहेको स्मरण गर्दै उहाँको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको बताए ।

गण्डकी प्रदेशका सांसद पञ्चराम गुरुङ, पूर्व सांसद लालकाजी गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेशका संचार विभाग प्रमुख एवं नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाली काङ्ग्रेसका उपसभापति शिव सुवेदी, क्षेत्रीय सभापति राजकुमार केसी, नगर सभापति किशोर भण्डारीलगायतले गुरुङको सम्झना गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button