नेपाल र भारतबीचको खेलमा वर्षा बाधक, बराबर अंक बाँडियो

  • पोखरा न्यूज
  • २०८१ पौष २
नेपाल र भारतबीचको खेलमा वर्षा बाधक, बराबर अंक बाँडियो

पोखरा । यू-१९ महिला एसिया कप टी-२० क्रिकेटमा नेपाल र भारतले अंक बाँडेका छन् । नेपालले भारतलाई ९५ रनको चुनौती दिएकामा ब्याटिङ गर्न उत्रेको भारतले ३ दशमलव१ ओभर खेल्दै २८ रन बनाएको अवस्थामा वर्षाले खेल अगाडि बढ्न नसकेपछि रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडेका छन् । दुवै टिमको समान ३-३ अंक भए पनि भारत समूह विजेता बन्दै सुपर फोरमा पुगेको छ भने नेपाल उपविजेता बन्दै सुपर फोरमा पुगेको हो ।

नेपाल र भारतले पाकिस्तानलाई पराजित गरेका थिए । भारतविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९४ रन बनायो ।

कमजोर ब्याटिङ गरेको नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाइन् । त्यस्तै अलिशाकुमारी यादवले ९ बलमा अविजित रहँदै २० रन बनाइन् । नेपालले १८ रन अतिरिक्तका रुपमा पाएको थियो । भारतका लागि परुनिका सिसोदियाले ४ विकेट लिइन् ।

समूह ए को नेपालले सोमबार पाकिस्तानमाथि शानदार जित हासिल गर्दै सुपर फोरमा स्थान बनाएको थियो । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

विश्वकपमा छानिएसँगै नेपालले पहिलो पटक आयोजना भएको टी-२० एसिया कपमा पनि स्थान बनाएको हो ।

भारतले यसअघि पाकिस्तानलाई ९ विकेटले हराएको थियो । दुवै खेल हारेसँगै पाकिस्तान बाहिरिएको छ भने नेपाल भारतसँग खेल्नुअघि नै सुपर फोरमा पुगेको छ ।

अर्को समूहमा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । बंगलादेशले दुवै खेल जितेको छ भने श्रीलंका एक जितसहित सुपर फोरमा पुगेको छ । मलेसिया दुवै खेल हारेर बाहिरिएको छ । पाँचौँ स्थानका लागि पाकिस्तान र मलेसिया भिड्ने छन् ।

सुपर फोरमा नेपालले श्रीलंका र बंगलादेशसँग खेल्नेछ । अर्को समूहका टिमसँग एकएक खेल खेल्ने नियमानुसार नेपालले बिहीबार श्रीलंकासँग तथा शुक्रबार बंगलादेशसँग खेल्नेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस