पोखरामा बेलुन महोत्सव, सबै तयारी पूरा

पोखरा । पोखराको पामे क्षेत्रमा यही पुस ९ गतेदेखि बेलुन महोत्सव हुने भएको छ ।

आयोजक बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

महोत्सव नौ दिनसम्म चल्नेछ भने सबै तयारी करिब पूरा भएको छ । महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाइमा पुग्ने महर्जनले बताए ।

महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखिएको उनले बताए ।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुनेछ ।

महोत्सवमा २५ वटा बेलुन पाँच हजार फिटसम्म उडाइनेछ । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ ।

महोत्सव अवधिभर पोखराका स्थानीय सांगीतिक ब्यान्ड साथै दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि दैनिक हुनेछन् ।

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट शुरू भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन् । महोत्सव सम्पन्न गर्न करिब सात करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

महोत्सवको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा करिज्म्याटिक डिजिटल सोलुसनले महोत्सव व्यवस्थापन गरेको छ । महोत्सवको संयुक्त आयोजकमा पोखरा पर्यटन परिषद् पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button