पोखरामा दोस्रो ड्रागन बोट रेस प्रतियोगिता हुँदै

  • पोखरा न्यूज
  • २०८१ पौष ४
पोखरामा दोस्रो ड्रागन बोट रेस प्रतियोगिता हुँदै

पोखरा । पोखरामा यही पुस १३ देखि १५ गतेसम्म दोस्रो नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता हुँदैछ ।

पोखराको फेवातालमा सञ्चालन हुने प्रतियोगिताको तयारी शुरु भएको छ । प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिंगापुरको एक गरी २० समूहको सहभागिता रहनेछ ।

प्रतियोगिता विजेताले पाँच हजार डलर पाउनेछन् । उपविजेतालाई दुई हजार डलर, तेस्रो हुने समूहलाई एक हजार दुई सय डलर दिइनेछ । प्रतियोगितामा सहभागी बाँकी १७ वटै समूहलाई पाँच सय डलर पुरस्कार प्रदान गरिनेछ ।

चीनमा लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा आयोजना गर्न थालिएको हो ।
गत वर्ष पोखराको फेवातालमा अन्तर्राष्ट्रिय र वेगनासताल राष्ट्रिय स्तरका प्रतियोगिता भएका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताले नेपाल चीनसम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावना खोज्न सघाउने विश्वास व्यक्त गरे ।

उनले पोखराका ताललाई आकर्षणका केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुग्ने उनको दावी छ ।

चिनियाँ राजदूतावासका डिसिएम वाङ् सिले आफूहरू पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार र पोखराको पर्यटन प्रवर्द्धनका लागि विभिन्न खाले कार्यक्रममा सहकार्य गर्न तत्पर रहेको बतााए ।

नेपाल चीन सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै वाङले पर्यटन, संस्कृति र भौतिक विकासका सन्दर्भमा सहकार्य गर्दै जाने आफूहरूको चाहना रहेको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा प्रतियोगिता हुने भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस