पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनल पुगेसँगै सुदूरपश्चिमसँग उपाधि भिडन्तमा शनिबार भिड्ने भएको हो ।
यसअघि पहिलो क्वालिफायरमा जनकपुर सुदूरपश्चिमसँग पराजित भएको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि ११९ रनको चुनौती पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गमाएर पूरा गर्यो ।
अन्तिम चार ओभर फिल्डिङमा धेरै नै गल्ती गर्दा निकै राम्रो खेलेको कर्णाली पराजित हुन पुगेको हो । जनकपुरका लागि जेम्स नीशमले १७ बलमा ४५, हर्ष ठाकेरले १७, शेर मल्लले १० बलमा अविजित रहँदै १६ रन बनाए ।
कर्णालीका लागि मात्र १६ वर्षे खेलाडी बिपिन शर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । उनी ‘स्लो लेफ्ट आर्म अर्थोडक्स’ हुन् । उनले यो लिगमा ९ विकेट लिएका छन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा १ सय १८ रन बनायो ।
गुल्सन झाले २५ तथा देव खनालले २४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशी, जेम्स नीशम र मोहम्मद मोहसिनले २–२ विकेट लिए ।
जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो । लिग चरणमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको थियो ।
यो हारसँगै कर्णालीले तेस्रो हुँदै २५ लाख रुपैयाँ हात पारेको छ । उपाधि विजेताले एक करोड १० लाख र उपविजेताले ५१ लाख जित्नेछ । चौथो भएको चितवन राइनोजले १५ लाख जितेको छ ।
पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution