स्कारपियो दुर्घटनामा एकको मृत्यु, घाइतेको पाेखरामा उपचार जारी [अपडेट]

  • पोखरा न्यूज
  • २०८१ पौष ४
स्कारपियो दुर्घटनामा एकको मृत्यु, घाइतेको पाेखरामा उपचार जारी [अपडेट]

|फाइल तस्बिर

पोखरा । पोखराबाट घान्द्रुक जाँदै गएको स्कारपियो अन्नपूर्ण गाउँपालिका वडा नं १० विकासे डाँडामा दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मुस्ताङको थासाङ गाउँपालिका वडा नं १ टुकुचेकी ७० वर्षीया भीमकुमारी थकाली रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उनलाई चिकित्सकले मृत घोषणा गर्न बाँकी रहेको छ ।

सोही दुर्घटनामा पोखरा महानगरपालिका वडा नं. १६ दीपकी २० वर्षीया रिहाना थकाली, मुस्ताङ थासाङ गाउँपालिका वडा नं १ टुकुचेकी ३१ वर्षीया ज्योती खत्री, बाग्लुङ गलकोट नगरपालिका वडा नं १ झाँक्रीस्थानकी ७६ वर्षीया खीमकुमारी खत्री, सोही स्थानकी ५२ वर्षीष नवीना खत्री छन् ।

उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरु सबै खतरामुक्त रहेको बताइएको छ ।

सोही गाडीका चालक स्याङ्जा भिरकोट नगरपालिका वडा नं २ डाँडाकोटका ४३ वर्षीय गोबिन्द श्रेष्ठ र बाग्लुङ गलकोट नगरपालिका वडा नं १ झाँक्रीस्थानकी ४० वर्षीया अनिता खत्री सकुशल छन् ।

प्रहरीका अनुसार ग१ज ६८२१ नं. को स्कारपियो जीप विकासे डाँडामा पुगेपछि अफ्ठ्यारो सडकका कारण रोकिएको थियो ।

चालक श्रेष्ठ र यात्रु अनिता अगाडि सडकको अवस्था हेर्न जानेक्रममा जीप पछाडि गुडेर सडकबाट करिब छ सय मिटर तल भिरमा अड्किन पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरी चौकी घान्द्रुक, प्रहरी चौकी बिरेठाँटी र वडा प्रहरी कार्यालय बगरबाट टोली खटिएर निकै अफ्ट्यारो भिरबाट यात्रुको उद्दार गरी हेलिकोप्टरमार्फत उपचारका लागि पोखरा ल्याइएको हो ।

चालक श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस