आर्थिक समृद्धि हासिल गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ : मुख्यमन्त्री

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताएका छन् ।

गोरखा उद्योग वाणिज्य सङ्घको ४९औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए ।

“स्थानीय उत्पादनलाई विश्व बजारसँग जोड्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ”, मुख्यमन्त्रीले भने, “निजी क्षेत्र र सरकारले केन्द्रीकृत योजना बनाएर काम गर्नु आवश्यक छ, यसबाट आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास छ ।”

उनले पर्यटन र कृषि क्षेत्रमार्फत गाउँगाउँमा प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न सकिने भएकाले सरकारले योजनाबद्ध रूपमा यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

निजी क्षेत्रका लागि सरकारले गर्नुपर्ने जिम्मेवारीप्रति प्रतिबद्ध रहेको मुख्यमन्त्रीको भनाइ छ । ग्रामीण क्षेत्रको विकासमा सबै तहका सरकारले जोड दिँदै आएका भए पनि ग्रामीण क्षेत्रबाट बसाइँसराइ समस्याका रूपमा बढ्दै गएकालाई यसलाई रोक्नुपर्ने उनले बताए ।

“उत्पादनलाई जोडेर गाउँमा रोजगारीका अवसर सिर्जना गर्नसके बसाइँसराइ रोक्न सकिन्छ”, मुख्यमन्त्रीले भने, “गाउँमा बस्ती खाली हुँदै जाने हो भने गाउँमा निर्माण गरेका सडक, विद्यालयलगायत पूर्वाधारको कुनै महत्व हुँदैन ।”

नेपाल मात्र नभई विश्व अर्थतन्त्रमा पनि आर्थिक मन्दीले छोएको भन्दै त्यसलाई सुधार गर्न वर्षौंदेखि बन्द रहेका उद्योग धन्दालाई सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

“जति उद्योगधन्दा सञ्चालन गर्न सकिन्छ त्यति सरकारको आम्दानी बढ्दै जान्छ”, मुख्यमन्त्रीले भने, “यसका लागि पनि निजी क्षेत्रसँगको सहयोग र सहकार्य आवश्यक छ ।”

उनले स्रोत र साधनले अभावका कारण जनताले अपेक्षा गरेअनुसार प्रदेश सरकारलाई काम गर्न कठिनाइ भइरहेको बताए ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकासको कुल बजेटमध्ये ५६ प्रतिशत सडक निर्माणका लागि विनियोजन गरिएको जनाउँदै मुख्यमन्त्रीले भने, “सडकको विकास नगर्दासम्म शिक्षा, स्वास्थ्य, कृषिलगायत अन्य क्षेत्रको पनि विकास गर्न कठिन हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button