पाेखरा। प्रथम नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित क्रिकेट मैदान मैदानमा मध्यान्ह १२:१५ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।
दुई दिनअगाडि नै सबै टिकट बिक्री भइसकेकाले फाइनल खेलमा दर्शकको उपस्थिति बाक्लो हुनेमा दुईमत छैन । यसबाहेक मैदानभित्रको प्रतिस्पर्धा पनि रोचक हुने अनुमान गरिएको छ ।
लिग खेल मध्य भागमा आइपुग्दा नै सुदूरपश्चिम र जनकपुरलाई स्वाभाविक रूपमा उपाधि दाबेदारका रूपमा हेरिएको थियो । दुवैले सोहीअनुरूप प्रदर्शन पनि गरे ।
उपाधी भिडन्त अगाडि नै सुदूरपश्चिम र जनकपुरबीच दुईपल्ट प्रतिस्पर्धा भएको थियो । दुवै खेलको नतिजा सुदूरपश्चिमको पक्षमा रह्यो । त्यो पनि यी खेलमा सुदूरपश्चिम पूर्ण हाबी भएको छ । लिगमा सुदूरपश्चिमले ७३ रन र पहिलो क्वालिफायरमा आठ विकेटको फराकिलो अन्तरले हराएको थियो ।
तेस्रोपल्ट यी दुई टोली आज आमनेसामने हुँदैछन् । यसपल्ट पनि सुदूरपश्चिमलाई बलियो दाबेदारका रूपमा हेरिएको छ । तर, फाइनलमा दुवै टोलीमाथि दबाब हुने भएकाले यसअघिका प्रदर्शन नदोहोरिन पनि सक्छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा नलिने स्पष्ट पारे । साथै उनले जनकपुर पनि बलियो रहेको र राम्रो योजना बनाएर खेल्ने बताएका छन् । दीपेन्द्रले जित या हारभन्दा पनि आफ्नो शतप्रतिशत दिएर खेल्ने बताए । पिचको अवस्था अनुरूपमा ब्याटिङ गर्ने योजना हुने उनको भनाइ छ ।
जनकपुरका कप्तान आसिफ शेखले फाइनलका बदला लिनेभन्दा पनि आफूसँग भएको उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गरे । उनले पछिल्ला खेलमा राम्रो ब्याटिङ गर्न नसके पनि फाइनलमा राम्रो खेल्ने आशा व्यक्त गरे ।
पावर प्लेमा राम्रो सुरुआत गरेर ब्याटिङलाई सहजता दिने उनको भनाइ छ । मैदानमा जसले कम गल्ती गर्छ त्यसको जित सम्भव हुने उल्लेख गर्दै आसिफले फाइनलमा यसअघि भएका गल्ती कम गर्ने बताए । पछिल्ला चार खेल हारे पनि त्यसलाई भुलेर खेल्ने उनको विश्वास छ ।
जनकपुरको सबैभन्दा कमजोर पक्ष अहिले शीर्ष क्रमका ब्याटरले राम्रो सुरुआत दिन नसक्नु हो । दोस्रो क्वालिफायरमा पनि कर्णाली याक्सविरुद्ध ब्याटर शीर्ष क्रमसँगै ब्याटिङमा चल्न नसक्दा जनकपुर हारको सङ्घारमा पुगेको थियो ।
तर, जिमी निसामको बलियो साथपछि जनकपुर उपाधि भिडन्त तय गर्न सफल भयो । ब्याटिङ लयमा नहुँदा पछिल्ला खेलमा जिमीकै साथले जनकपुर यहाँसम्म पुगेका हो भन्दा फरक पर्ने छैन । तर, बलिङमा भने जनकपुर बलियो छ ।
स्पिनर ललित राजवंशी र किशोर महतो उत्कृष्ट लयमा छन् । जुन सुदूरपश्चिमका लागि चुनौती बन्नेछ । यता, सुदूरपश्चिमको भने ब्याटिङ र बलिङमा सन्तुलित नै छ ।
स्कट कुग्गेलिन र हरमित सिंह सुदूरपश्चिमको बलिङ हतियार हुन् । ब्याटिङ भने कुनै एक खेलाडीले ठूलो इनिङ खेल्न नसके पनि सबैले योगदान दिँदा सुदूरपश्चिमका लागि सहज बनेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution