जनकपुरले जित्यो एनपीएल उपाधि

  • पोखरा न्यूज
  • २०८१ पौष ६
जनकपुरले जित्यो एनपीएल उपाधि

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।

जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए ।

आशिफ शेखले १९ बल खेल्ने क्रममा चार चौका र दुई छक्कासहित ३३ रनको योगदान दिए । हर्ष थाकरले २४ बल खेल्दै दुई छक्काको साहरामा ३० रन बनाए । साथै मोहम्मद मोहसिनले नौ र जिमी निशमले चार, आकाश त्रिपाठीले दुई र मयन यादवले दुई रन बनाए ।

सुदूरपश्चिमका लागि सैफ अलि जेब, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलेइनले समान एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । उसका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत दिलाए ।

उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।

साथै ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक/एक विकेट लिए ।

प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख र चौथो हुनेले रु १५ लाख प्राप्त गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस