लेखनाथमा प्रथम यःमरी उत्सव तथा सांस्कृतिक कार्यक्रम

लेखनाथ । नेवाः पुच लेखनाथद्वारा आयाेजित प्रथम यःमरी उत्सव सम्पन्न भएको छ । स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गरौं भन्ने उद्देश्यसहित पहिलोपटक उत्सव आयोजना गरिएको थियो । जसमा मौलिकता झल्कने तथा सभ्यताको प्रतीकका रुपमा यःमरी परिकारको उत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम उद्घाटन गर्दै रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सँस्कृतिको धनी मुलक नेपालमा सँस्कृति र धार्मिक हिसाबले नेवार समुदाय अग्रपंंक्तिमा रहेको बताए ।

उनले नेवार समुदायको बौद्धिक तथा सामाजिक व्यक्तित्वले आफ्ना संस्कार र सँस्कृति झल्काउने तथा नयाँ पुस्तालाई यसबारे ज्ञान प्रदान गर्न पनि यस्ताखाले उत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

लेखनाथ मिस पुचः का संस्थापक अध्यक्ष मेनुका श्रेष्ठले यःमरीको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै नेवारी परिकार र संस्कृतिलाई नयाँ पुस्ता र गैरनेवार समुदायसम्म पुर्याउन उत्सवले महत्वपूर्ण भूमिका खेल्ने दावी गरिन् ।

कार्यक्रममा वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, अर्घौँ नेवाः खलका कार्यबाहक अध्यक्ष प्रकाशलाल श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी, कास्की नेवाः खलका अध्यक्ष अशोक पालिखे, नेवाः मिस पुचः कास्की अध्यक्ष संगीता बज्राचार्य र पावरहाउस बजार व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र गुरुङलगायतले बोलेका थिए ।

नेवा मिसाः पुचाः अध्यक्ष मीनाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पवित्रा श्रेष्ठले स्वागत र सञ्चालन सचिव संगीता श्रेष्ठले गरेकी थिइन् ।

नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी देवतालाई यःमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ ।

नयाँ धान कुटी पिसेको पिठोमा चाकु, तील, नरीवल वा खुवा वा मास पिनेको वा किमा मासुलगायतका विभिन्न सामग्री राखी त्रिकोण आकारको वा लाम्चो आकारको बनाई बाफले पकाएर यःमरी तयार गरिन्छ ।

यःमरीले जाडोमा शरीरमा आवश्यक ताप र ऊर्जा दिने तथा चिसोबाट लाग्ने रोगबाट बचाउने भएकाले स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ।

यसरी बनाएको यःमरी नयाँ आएका धानको भकारी वा कुल देवता वा पूजाकोठामा पूजा गरे कृषि उत्पादनमा वृद्वि हुने र अन्नको अभाव नहुने विश्वास रहेकाे बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button