
पोखरा । पूर्वगृहमन्त्री रवि लामिछाने थुनुवा कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार साँझ भुसाललाइ थापाथलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अपराध अनुसन्धान कार्यालय प्रमुख भट्टराईका अनुसार थप अनुसन्धानका लागि भुसाललाई सोमबार पोखरा ल्याउने तयारी छ ।
भुसालले लामिछानेको फोटो आफूले प्रहरीको सिसीटिभीबाट खिचेको यसअघि नै स्वीकार गरिसकेका छन् ।
गएको शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेका बेला प्रहरीको सिसीटिभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले बताएका छन् ।
लामिछाने पक्राउ परेदेखि कास्की प्रहरीले कार्यालयमा कुनै पनि प्रयोजनका लागि आउने सेवाग्राहीलाई मोबाइल लैजान रोक लगाएको बताइए पनि भुसालले प्रहरीको गेटभित्रै रहेको सिसिटीभीमा रवि लामिछाने सुतेको देख्नासाथ फोटो खिचेको बताइएको छ ।
मोबाइलबाट खिचेको फोटो आफूले फेसबुकमा पोस्ट गरेपछि रास्वपा कार्यकर्ताले भाइरल बनाएको र आफू रास्वपाको सदस्य नभएको भुसालले बताउने गरेका छन् । पहिल्यै फोटो खिचिसकेका उनले भित्र लामिछानेलाई भेट्न जाँदा भने मोबाइल प्रहरीलाई बुझाएको समेत बताएका छन् ।
लामिछाने सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा कास्की प्रहरी हिरासतमा छन् । उनीविरुद्ध आइतबार नै अदालतमा मद्दा दायर भएको छ ।





