पोखरा । बागलुङका ३४ जना एचआइभी संक्रमित निःशुल्क स्वास्थ्य बीमाको सुविधाबाट बञ्चित भएका छन् ।
निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थासँगै विभेद्को डरले समाजमा खुल्न नसकेका कारण एचआइभी संक्रमित समस्यामा परेका हुन् ।
एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कंडेलका अनुसार बागलुङमा कुल दुई सय आठजना एचआइभी संक्रमितमध्ये ३४ जनाको स्वास्थ्य बीमा हुन सकेको छैन ।
एक सय ७४ जनाको निःशुल्क स्वास्थ्य बीमा भएको छ तर समाजमा खुल्न नचाहने र विभेद्को डरले ३४ जना स्वास्थ्य बीमामा समेटिन सकेका छैनन् ।
उनीहरूका लागि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्र वा धवलागिरि पोजेटिभ समूहमार्फत बीमाको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरिएको कंडेलले बताए ।
निःशुल्क स्वास्थ्य बीमा गर्न नपाएकामा जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला गाउँपालिकालगायत विभिन्न स्थानीय तहका एचआइभी संक्रमित छन् ।
बीमा सुविधाबाट बञ्चित हुँदा एचआइभी संक्रमित महँगो उपचार सेवा लिन बाध्य छन् । सरकारले एचआइभी संक्रमितका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था छ ।
कतिपय स्थानीय तहले आफ्नै बजेटबाट एचआइभी संक्रमितको स्वास्थ्य बीमा गर्दै आएका छन् ।
स्वास्थ्य कार्यालयको सिफारिसमा या अन्य आधिकारिक निकायमार्फत एचआईभी संक्रमितको बीमा गरिदिने व्यवस्था गर्नुपर्ने स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
बीमाको सिफारिसका लागि संक्रमित आफ्नै ठाउँमा जानुपर्ने भएकाले उनीहरूलाई समस्या भएको हो । उनले भने, ‘एचआइभी संक्रमितलाई सहज रूपमा स्वास्थ्य बीमाको सुविधा दिन स्वास्थ्य बीमा बोर्डले पहल लिनु आवश्यक छ ।’
यसअघि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट एचआइभी संक्रमितको स्वास्थ्य बीमा हुँदै आएकामा अहिले बजेट कटौती भएपछि उक्त केन्द्रबाट बीमा हुन छाडेको बताइन्छ ।
धवलागिरि पोजेटिभ समूहका अनुसार जिल्लामा रहेका कूल दुई सय आठ एचआइभी सङ्क्रिममध्ये २२ जना बालबालिका छन् ।
संक्रमितमध्ये एक सय ५२ जनाले धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट औषधोपचारको सेवा लिइरहेका छन् ।
जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ अस्पतालबाट पनि एचआइभी संक्रमितका लागि औषधि उपलब्ध गराइँदै आएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution