‘किसुनजी सदा अमर’

  • पोखरा न्यूज
  • २०८१ पौष ९
‘किसुनजी सदा अमर’

पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता एव‌ पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)को १०१औँ जन्मजयन्तीको अवसरमा पोखरामा विचार गोष्ठी सम्पन्न भएको छ । गोष्ठी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले आयोजना गरेको हो ।

सो अवसरमा पूर्वमन्त्री उपाध्यायले आध्यात्मिक व्यक्तिसमेत रहेका किसुनजीमा स्वार्थको भाव नरहेको र आफू हारेर पनि पार्टी र देशको फाइदाका लागि सधैँ लडेको सम्झना गरे ।

राजनीतिमा हार र जीतले कुनै प्रभाव नपार्ने भन्दै उनले जीत र हार भन्दा माथि आफूलाई राख्नुपर्ने कथ्य सिकाएको उपाध्यायले बताए ।

अहिलेको राजनीति अनैतिकता छलछाम, स्वार्थमा बगेको देखिएको भन्दै उनले डन र धनको संस्कृति मौलाएर गम्भीर रोगको शिकार बन्न पुगेको तर्क गरे ।

उनले भने, ‘अब रोग लाग्यो यसलाई सर्जरी नै गर्नुपर्ने अवस्था आएको छ, अरुलाई दोष दिने होइन सत्यको खोजी गरेर असत्यलाई चिर्ने प्रयास गरिएन भने पार्टी खतराको अवस्थामा आइपुगेको छ ।’

‘किसुनजी भन्नुहुन्थ्यो सत्ता प्राप्ति मेरो रुची होइन, मोक्ष नै मेरो लक्ष्य हो, चरित्रमा इमान्दारिता भयो भने सबै झुक्नुपर्छ’, उपाध्यायले भने, ‘किसुनजीले अवसर आएपछि अन्तरिम संविधान र निर्वाचन समयमा नै काम गरेर साहस देखाउनुभएको, आर्थिक पारदर्शिता देखाउनुभएको, भाषणमा नभई व्यवहारमा देखाएका कामले उहाँलाई सदा अमर राखेको छ ।’

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले किसुनजीलगायतका नेताका त्याग तपस्याका कारण आज पनि आदर्श पुरुष कहलिएको बताए ।

सभापति शर्माले राज्यको जिम्मेवारी पदमा हुँदा वा नहुँदा पनि आफूलाई नचुकाएको आदर्श पुरुष रहेको बताए । वीपीलाई समेत किसुनजीले आफूलाई लागेको कुरा राखेर आफूतर्फ आकर्षण गराएका तथ्य रहेको उनले स्पष्ट पारे ।

उनले सत्य र निष्ठाको राजनीति गरेमा कहिल्यै पनि शीर झुकाउनु नपर्ने र पार्टी र संगठन बलियो हुने बताए ।

प्रजातन्त्र बिना जनता र राज्यको जीवन स्तर सकारात्मक परिवर्तन असम्भव भएको भन्दै सभापति शर्माले प्रजातन्त्रमा जनता मालिक, कार्यकर्ता पार्षद र नेता सेवक हुने भए पनि अहिले ठीक उल्टो भएको बताए ।

उनले सबै विरासत छोडेर म नै सर्वव्यापी हो भनेर आउँदा आज पार्टी र देशको अवस्था नाजुक बन्न पुगेको उल्लेख गरे ।

प्रजातन्त्र स्थापनाका लागि भट्टराईले १८ वर्ष जेल जीवन बिताएको र सदैब नेपाली जनताको जीवनस्तर उकास्न चिन्तित रहने गरेको शर्माले बताए ।

किसुनजी जस्तो नेता संसारमा बिरलै मात्र पाउन सकिन्छ भन्दै गिरिजाबाबु, गणेशमान, सुवर्ण शमशेरसहितका नेतालाई मिलाएर कांग्रेसलाइ बलियो बनाउन किसुनजीको योगदान महत्वपूर्ण रहेको सभापति शर्माले तर्क गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले गण्डकी प्रदेशले गरेको गोष्ठीले किसुनजीको जीवनीलाई कार्यकर्ता माझ पुर्याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका थिए ।

भट्टराईले कांग्रेस भित्रबाट गिरिजाबाबु र किसुनजीको बिचमा द्वन्द बढाउन खोज्ने केही नेतासमेत रहेको भन्दै आफू किसुनजीको प्रेरणाबाट राजनीतिमा सक्रिय बनेको समेत स्पष्ट पारे ।

उनले घर परिवारको माया मोह र सबै दवाब र प्रभावबाट मुक्त भएर देश र जनताको लागि सदैब क्रियाशील रहने प्रेरणा किसुनजीबाट नै मिल्ने भएकोले कांग्रेसजनले किसुनजीको इतिहास पढ्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस कास्कीका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले किसुनजीले सिकाएको निष्ठा र त्याग सदा अमर रहने बताए ।

उनले कांग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुपर्छ भनेर सदैब लागिपर्ने नेताको रुपमा किसुनजी रहेको स्पष्ट पारे ।

नेपाली कांग्रेस कास्कीका अध्यक्ष किशोरदत्त बरालले पार्टीलाई उत्पादन जोड्नुपर्ने जानकारी गराएका थिए ।

कार्यक्रममा प्राडा कुशुमाकर न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, सहमहामन्त्री कोपिला रानाभाट, प्रवक्ता माधव बास्तोला (मधु) लगायतले बोलेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस