पोखरामा माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

  • पोखरा न्यूज
  • २०८१ पौष १०
पोखरामा माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

पोखरा । पोखरामा २१औँ माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगिता बिहीबारदेखि सञ्चालन हुनेछ ।

पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथी भेट्रान्स उमेर समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए ।

आयोजक समिति उपाध्यक्षसमेत रहेका चालिसेका अनुसार प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लासहित मित्रराष्ट्र भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकबाट खेलाडी पोखरा आएका छन् ।

ओपनतर्फ नेपालका शीर्ष वरियताका १ प्रदिप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका खेलाडी सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।

मेन्स सिंगलमा ३१ खेलाडी, उमन्स सिंगलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२ खेलाडी, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जनासहित सय बढी खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

संघका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैयाँ खर्च हुने अनुमान छ । जसमा पुरस्कारमा मात्रै करिब आठ लाख खर्च हुने संघका कोषाध्यक्ष विष्णुबहादुर थापाले बताए ।

ओपनतर्फ मेन्स तथा उमन्स सिंगल्स बिजेताले नगद ८० हजार, उपबिजेताले ४० हजार नगद परस्कार प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलिस्टले नगद २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

मेन्स तथा उमेन्स डबल्सतर्फ विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलिस्टले नगद १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी ३५ वर्ष माथिको सिंगल्स विजेताले ६० हजार, उपविजेताले ३० हजार, सेमिफाइनलिस्टले १५ हजार तथा ३५ वर्षमाथिको डबल्स विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, ४५ वर्षमाथिको सिंगल्स विजेताले ४० हजार, उपविजेताले २० हजार र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ तथा ४५ वर्ष माथिको डबल्स बिजेताले २० हजार, उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस