पोखराको प्रतिभा माविमा कक्षा प्रतिनिधिलाई प्रशिक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ पालिखेचोकस्थित प्रतिभा माविले कक्षा प्रतिनिधिका लागि नेतृत्व विकास तालिम दिएको छ ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये एक सय ६० जना कक्षा प्रतिनिधि (सिआर) का लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीमध्ये हरेक कक्षाबाट चार जनाका दरले कक्षा प्रतिनिधि चयन गरिएको छ । तिनै विद्यार्थीका लागि नेतृत्व विकास तालिम दिइएको हो ।

‘विद्यार्थीमा अन्तरनिहीन क्षमता विकास गर्नका लागि यो प्रशिक्षण दिएका हौँ, यसले कक्षा प्रतिनिधिलाई जिम्मेवार बनाएको छ भने थप हौसला पनि प्रदान गरेको छ,’ सापकोटाले भने ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले कार्यक्रम उद्घाटन गरेका थिए ।

वरिष्ठ मनोपरामर्शदाता तथा उत्प्रेरणवक्ता रमण भट्टराईले तालिममा सहजीकरण गरेका थिए । दोस्रो चरणमा प्राचार्य सापकोटाले विद्यार्थीको जिम्मेवारी र कर्तव्यबारे जानकारी दिलाएका थिए ।

भट्टराईले विद्यार्थीलाई यस्तो प्रकारको तालिमले कक्षा कोठामा थप जिम्मेवार बनाउने बताए । ‘विद्यार्थीमा थप जिम्मेवारको अनुभव हुनेछ, कतिपय विद्यार्थीमा उपयुक्त ज्ञान नहुँदा कक्षा कोठाको नेतृत्व कसरी गर्ने भन्ने अन्योल हुने गरेको थियो, यस्तो तालिमले उनीहरुमा क्षमता विकास हुनेछ’, उनले भने ।

विद्यालय संचालक समिति अध्यक्ष पौडेलले विद्यार्थीमा यस्तो प्रशिक्षणले आत्मबल बढ्ने बताए ।

‘कक्षा प्रतिनिधि भएपछि पनि के गर्ने वा नगर्ने भन्ने ज्ञान नहुन सक्छ, कक्षाकोठाको अनुशासन कायम गर्नेदेखि विद्यालय प्रशासन समक्ष मध्यस्थता गर्ने काम प्रतिनिधिले गर्ने भएकोले उनीहरुलाई ज्ञानको आवश्यक पर्छ,’ पौडेलले भने, ‘अहिलेको सिकाईले विद्यार्थीमा भविश्यसम्म पनि सघाउ पुर्याउँछ ।’

विद्यालयका संस्थापक राकेश जोशीले विद्यार्थीमा अन्तरनिहीन क्षमता विकास गर्नका वर्सेनि यस्तै कार्यक्रम गर्दै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button