पोखरामा पाँचौँ टाइगर कप : उपाधि विजेतालाई छ लाख पुरस्कार

पोखरा । पोखरामा पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघको दोस्रो साता हुने भएको छ ।

प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुनेछ । प्रतियोगिताको तयारी तीव्र बनाइएको छ ।

यस पटकको प्रतियोगिताको पुरस्कार राशि पनि वृद्धि गरिएको टाइगर गु्रप अफ पोखरा नेपालले जनाएको छ ।

यस पटक उपाधि विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेताले दुई लाख ८५ हजार पाँच सय ५५ तथा तेस्रो हुने टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीद्वयले २५ हजार सात सय ७७, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाईकर र प्रशिक्षकले १० हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, श्रीलंकन आर्मी, भारत, चीन तथा माल्दिभ्सको टोलीले सहभागिता जनाउने छन् ।

महिलातर्फ गण्डकी प्रदेश, एभरेष्ट बोर्डिङ स्कुल, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, भारतीय टिम र थाईल्याण्डको टोली रहनेछन् ।

राउण्ड रोविनको आधारमा खेलाइने प्रतियोगितामा एक करोड दुई लाख खर्च हुने अनुमान गरिएको छ ।

गतवर्ष पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल एपीएफ क्लबले उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button