पोखरा । थकाली सेवा समिति पोखराले नेपाली साहित्यका विराट प्रतिभा भूपी शेरचनको ८९औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ ।
समितिले हरेक दुई वर्षमा अर्पण गर्दै आएको भूपी काव्य पुरस्कार यो वर्ष साहित्यकार असफल गौतमलाई अर्पण गरेको छ ।
कार्यक्रमका सल्लाहकार हरिध्वज तुलाचन र अध्यक्ष तेजेन्द्र तुलाचनले नगद ५० हजारसहित उनलाई उक्त सम्मान अर्पण गरे ।
सोही समारोह बीच साहित्यकार रवीन्द्र माकाजूद्वारा लिखित ‘थकाली प्रतिभा’ पुस्तकसमेत लोकार्पण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि तुलाचनले भूपी आफ्नै मेहनत र साधनाले महान् बनेको बताउँदै मानव जाति सबैको हित हुने काममा लाग्नुपर्ने धारणा व्यक्त गरे ।
गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले भूपीको प्रभावशाली व्यक्तिबाट पछिल्लो पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिए ।
वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले थकाली सेवा समितिले भूपी काव्य पुरस्कारका माध्यमबाट भूपीको योगदानलाई चिरस्थायी बनाउन उल्लेख्य योगदान दिएको बताइन् ।
समितिका केन्द्रीय उपाध्यक्ष शिवशंकर गौचनले भूपी थकाली जातिको मात्र नभएर राष्ट्रकै गौरव भएको धारणा राखे ।
थकाली सेवा समिति पोखराका निवर्तमान अध्यक्ष इ. रुजिन्द्र तुलाचनले भूपीको काव्यकारिताका बारेमा चर्चा गरे ।
समितिका पूर्वकेन्द्रीय उपाध्यक्ष डा. सोमतसिंह तुलाचनले कविता लेखेर भूपीलाई देखाउँदा भूपीले आफूलाई कवि नबनोस् भन्ने धारणा राखेको स्मरण गरे ।
सम्मानित स्रष्टा असफल गौतमले भूपीको नाममा स्थापित पुरस्कारले थप साधनामा लाग्न जिम्मेवारीबोध भएको बताए ।
उनले थपे, “घर पहिलो पाठशाला, विद्यालय दोस्रो र समाज तेस्रो पाठशाला भएकाले थकाली सेवा समिति जस्ता समाजले भूपीको योगदान चिरस्थायी बनाउन १० कक्षा पढ्दासम्म राष्ट्रियताको वकालत गर्ने विद्यार्थीलाई आफ्नै देशमा भविष्य देशमा देख्न सक्ने जिम्मेवार देशभक्त बताउन आवश्यक छ ।”
संस्थाका सचिव भक्त शेरचनले असफल गौतमको व्यक्तित्व प्रस्तुत गर्दै साहित्यका विविध विधामा क्रियाशील बहुआयामिक प्रतिभालाई भूपी पुरस्कार अर्पण गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको धारणा राखे ।
कार्यक्रममा समितिका सल्लाहकार विश्वमोहन गौचन, योगेन्द्र शेरचन, पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पुतलीबजार प्रज्ञा-प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’, साहित्यकार रवीन्द्र माकाजू, बबी गौचन, ओमप्रसाद गौचनलगायतले बोलेका थिए ।
थकाली सेवा समिति अध्यक्ष तेजेन्द्र तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सतकुमारी शेरचनले स्वागत गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution