व्यवहारिक र जीवन उपयोगी शिक्षा आजको आवश्यकता : मन्त्री थापा

  • पोखरा न्यूज
  • २०८१ पौष १२
व्यवहारिक र जीवन उपयोगी शिक्षा आजको आवश्यकता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले व्यवहारिक र जीवनउपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।

कास्कीको मादी गाउँपालिका वडा नं. ४ स्थित ध्रुव माध्यमिक विद्यालयको ६९औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रममा उनले स्थानीय उत्पादनका विषयमा विद्यार्थीलाई समेत जानकारी हुनुपर्ने उल्लेख गरे ।

प्रदेश सरकारले शिक्षामा सुधार ल्याउन नयाँ कार्यक्रम ल्याएको र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।

“सिक्दै कमाउँदै कमाउँदै सिक्दै, फ्राइडे फर फ्यूचर, अभिभावक शिक्षा जस्ता महत्वपूर्ण कार्यक्रम शिक्षाको क्षेत्रमा प्रदेश सरकारले ल्याएको छ, यसको कार्यान्वयमा सबै विद्यालय लाग्नुपर्ने छ, परिणाम आउने गरि नै यहाँहरुले कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन अनुरोध गर्दछु”, उनले भने ।

मन्त्री थापाले शिक्षामा सुधार ल्याउन मापदण्ड सरल र सहज बनाइने बताए । उनले स्थानीय पालिकाको सहकार्यमा नै शिक्षा क्षेत्रलाई सुदृढ बनाउन सकिने उल्लेख गरे ।

विद्यालयको शैक्षिक प्रगतिका विषयमा जानकारी गराउँदै प्रधानाध्यापक रामबाबु पौडेलले विद्यालयमा हाल एक सय ७० जना विद्यार्थी रहेको बताए ।

विद्यालयले स्थानीय स्रोत साधनको उपयोग गर्दै उत्पादनसँग पनि विद्यार्थीलाई जोडेको उनले उल्लेख गरे ।

विद्यालयमा खेलकुद मैदान र यातायातको समस्या भएको र त्यसको परिपूर्तिमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।

विद्यालयका भूतपूर्व विद्यार्थी एवं भूगर्भविद डा. सोमनाथ सापकोटाले नेपालमा साइन्स पढ्ने वातावरण घट्दै गएको बताए ।

मादीको केन्द्रमा पालिका स्तरीय साइन्स क्याम्पसको आवश्यक रहेको भनाइ उनको छ । शैक्षिक स्तरमा सुधार ल्याउन सबै सचेत हुनुपर्ने उनले उल्लेख गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस