पोखरा । पोखरामा शनिबार आयोजित सातौँ टूर दी पोखरा साइकल र्याली सम्पन्न भएको छ । साइकल सिटी पोखराले ‘स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धनका लागि साइकल’ भन्ने मूल नाराका साथ साइकल र्याली आयोजना गरेको हो ।
पोखराको सभागृहचोकबाट शुरु भएको साइकल र्याली पृथ्वीचोक, अमरसिंह चोक, रामबजार, महेन्द्रपुल, बगर, जिरो किलोमिटर, सृजनाचोक हुँदै पुनः सभागृहचोकमा पुगेर समापन भएको हो ।
र्यालीमा पोखरा, स्याङ्जा, मुस्ताङ, काठमाडाैँ, भक्तपुर, ललितपुरसहित केही विदेशीसमेत गरी करिब पाँच सय साइकलिष्ट सहभागी थिए ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताए ।
उनले साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पर्यटन विकासमा टेवा पुर्याउन साइकल र्याली फलदायी हुने विश्वास व्यक्त गरे ।
साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले स्वास्थ्य, वातावरण र पर्यटनका लागि पोखरामा सन् २०१२ देखि निरन्तर साइकल र्याली गर्दै आइरहेको जानकारी दिए ।
उनले पर्यावरणको रक्षा, मानव स्वास्थ्यलाई सन्तुलित राख्न र साइक्लिङका माध्यमबाट गण्डकी प्रदेशको पर्यटन विकासमा सहयोग पुर्याउन कार्यक्रम आयोजना गर्ने गरिएको बताए ।
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले पोखराको सन्देशले हिमालको पर्यटनमा योगदान दिने बताए ।
उनले मुस्ताङमा पनि पर्यटन विकासका लागि साइक्लिङ हबको सम्भावना रहेको दावी गरे । साथै यसप्रकारका कार्यक्रम हिमालसम्म जोड्नुपर्ने उनले बताए ।
उक्त अवसरमा साइक्लिङ विधिमा योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution