पोखरा । शुक्रबार रातिदेखि बदली भएको मौसम आइतबारदेखि सुधार हुँदै जानेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति पनि अहिले जस्तै बदली कायम रहने भन्दै आइतबार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो ।
विभागका मौसमविद् सञ्जीव अधिकारीले अहिले राति पनि देशभर बदली रहेको र पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको जानकारी दिए ।
उनले कालीकोट, डडेलधुराका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको बताउँदै कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको उल्लेख गरे । लुम्बिनीका केही क्षेत्रमा हल्का पानी परेको भन्दै हुम्लासहित हिमाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको जानकारी दिए ।
महाशाखाले शनिबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जनाइएको छ ।
“हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ”, महाशाखाले उल्लेख गरेको छ ।
आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा, लुम्बिनी र कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनेछ ।
साथै सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानका साथै गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तर मौसम सुधारोन्मुख रहेको जनाइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution