पोखराको फेवातालमा ‘दोस्रो ड्रागन बोट रेस फेष्टिभल’ शुरु [तस्बिर]

  • पोखरा न्यूज
  • २०८१ पौष १४
पोखराको फेवातालमा ‘दोस्रो ड्रागन बोट रेस फेष्टिभल’ शुरु [तस्बिर]

पाेखरा । पोखराको फेवातालमा ‘दोस्रो ड्रागन बोट रेस फेष्टिभल’ शुरु भएको छ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा साे फेष्टिभल शुरु भएकाे हाे ।

सोमबारसम्म सञ्चालन हुने फेस्टिभलमा नेपालसहित चीन र सिङ्गापुरका २० टोली सहभागी छन् ।

प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ जना खेलाडी यही पुस ११ गते पोखरा आइसकेका छन् ।

प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने जनाइएको छ ।

प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता छ ।

प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

फेष्टिभल उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताए । उनले खेलका माध्यमबाट विभिन्न देश र समुदायका बीचमा एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि खेलकुद जरुरी रहेको बताउँदै मन्त्री चौधरीले निरन्तर खेलकुदका गतिविधि सञ्चालन गरी योग्य खेलाडी उत्पदान गर्दै जानुपर्ने गर्नुपर्ने आवश्यकता औँल्याए ।

ड्रगन बोट रेस फेष्टिभलले पोखराको खेल तथा पर्यटन क्षेत्रको विकास गर्नुका साथै नेपाल र चीनका नागरिकका बीचमा रहेको सुमधुर सम्बन्धलाई थप मजबुद बनाउने धारणा राखे ।

नेपालको प्रमुख पर्यटकीय साझेदार राष्ट्रका रूपमा चीन रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस प्रतियोगिताका माध्यमबाट पोखरासहित नेपालको पर्यटन प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरे ।

नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्धलाई सशक्त बनाउन प्रतियोगिता सफल बन्ने उल्लेख गर्दै उनले सहभागी सबै प्रतियोगीलाई सफलताको शुभकामना व्यक्त गरे ।

पोखरालाई खेलकुदको क्षेत्रमा अघि बढाउने किसिमबाट काम भइरहेको बताउँदै मन्त्री चौधरीले सन् २०२७ मा हुने यू-१९ महिला क्रिकेट विश्वकपमा पोखरा पनि छानिएकाले आगामी आर्थिक वर्षमा खेलकुदसम्बन्धी पूर्वाधार विकास, खेलाडीलाई तालिमलगायत क्षेत्रमा बजेट विनियोजना गरिने जानकारी दिए ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सुन्दर पोखराको फेवातालमा आयोजित ड्रागन बोट रेस फेष्टिभल दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

चिनियाँ नगारिकका लागि पोखरा प्रमुख गन्तव्यका रूपमा रहेको भन्दै उनले यस वर्षको ड्रागन बोट रेसमा अघिल्लो वर्षको तुलनामा खेलाडीको सहभागिता तेब्बरले वृद्धि भएको जानकारी दिए । महोत्सवले पोखरालाई चिन्न र बुझ्न अझै सहयोग पुग्ने उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रकृति, कला र संस्कृतिले सम्पन्न पोखरा पर्यटन राजधानी रहेकाले बृहत् पोखराको अवधारणाका साथ यहाँको पर्यटकीय विकासमा विविध गतिविधि सञ्चालन गर्न थालिएको बताए ।

पर्यटन प्रवर्द्धन र विकासमा यस किसिमका खेलकुदका गतिवधिले सहयोग पुर्‍याउने उनको भनाइ छ ।

क्रस कन्ट्री, ड्रागन बोटलगायत खेलका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने उनले विश्वास व्यक्त गरे ।

सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाइने बताउँदै नगरप्रमुख आचार्यले चीनका विभिन्न सहरबाट पोखरामा सिधा उडान सञ्चालनका लागि चिनियाँ सरकारलाई आग्रह गरे ।

गण्डकी प्रदेशका समाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा खेल पर्यटनका दृष्टिले पनि सम्भावना बोकेको ठाउँ रहेको बताए ।

ड्रगन बोट रेस प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पनि थप टेवा पुग्ने उनको भनाइ छ ।

तस्बिर

 

 

 

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस