२०औँ लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

  • पोखरा न्यूज
  • २०८१ पौष १६
२०औँ लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा । बीसौँ लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि सञ्चालन हुँदैछ ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी सह-आयोजक रहेको महोत्सव पोखरा-२७ डाँडाको नाक, तालचोकमा सञ्चालन हुने छ ।

महोत्सव उद्घाटन अघि झाँकी प्रदर्शनी तथा विभिन्न जातजातिको रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी गरिने जनाइएको छ । महोत्सव अवधिभर नै झाँकी तथा सांस्कृतिक प्रदर्शनी एवं रत्यौली गीत कार्यक्रम पनि हुने जनाइएको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ हुने महोत्सवमा कुल तीन सय ३६ वटा स्टल रहने संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा अटोका छ वटा, शैक्षिक तथा ग्रामिण प्रविधिसम्बन्धी १२ वटा, कृषिका ३६ वटा, किचनका २५ वटा, मेसिनरीका १० स्टल रहनेछन् ।

यस्तै, हस्तकलाका १६, गार्मेन्ट तथा रेडिमेडका १०८, जनरल २६, फुड एण्ड बेभरेजका १६, डेरीका नौ, नेपाली उत्पादन सामग्रीका २२ स्टल रहेको उनले बताए । त्यसबाहेक खाना तथा खाजाका १७, बैंक तथा वित्तीय संघसंस्था र प्रायोजकका गरेर ३३ वटा स्टल रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अर्थतन्त्र चलायमान गराउँदै स्थानीय उत्पादनको प्रवद्र्धन गर्नु महोत्सवको उद्देश्य रहेको संघले जनाएको छ ।

संघका अध्यक्ष श्रेष्ठले स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, हस्तकलाका वस्तुको बजार प्रवर्द्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सृजनशीलतामा जोड दिनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।

यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित वस्तु तथा सेवाहरुको प्रदर्शनी, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको उनको भनाइ छ ।

लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य पदार्थलगायतको बिक्री एवं प्रदर्शनी, फुड फेस्टिभल, अटोमोवाइल प्रदर्शनी, शैक्षिक प्रदर्शनी, विद्यालयस्तरीय खुला चित्रकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कारलगायत महोत्सवका आकर्षणमा रहेको आयोजकको भनाइ छ ।

महोत्सव स्थलमा शान्तिका दूत बुद्धको प्रतिमा निर्माण गरिएको छ । जुन दर्शकको आकर्षणको केन्द्र बन्ने आयोजकले बताएको छ ।

महोत्सवको मुख्य आकर्षणमा सुगम संगीततर्फ पप कन्सर्ट र लाइभ व्यान्डको प्रस्तुति रहने संघकी महासचिव तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक जानुका पराजुली अधिकारीले बताइन् ।

यस्तै, राष्ट्रियस्तरका चर्चित कलाकाको लोकदोहोरी तथा हास्यव्यंग्य प्रस्तुति रहने उनको भनाइ छ । उनका अनुसार लाईभ व्याण्डतर्फ मंगोलियन हर्टलगायतको प्रस्तुति रहने छ भने पप कन्सर्टतर्फ प्रमोद खरेललगायतका कलाकारको प्रस्तुति रहने छन् ।

महोत्सवका सह‍संयोजक एवं प्रायोजक व्यवस्थापन उपसमिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिने गरेको बताए ।

उनले उत्पादक र उपभोक्तालाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

महोत्सव अवलोकनका लागि साधारणतर्फ एक सय रुपैयाँ टिकटदर तोकिएको छ । तर विद्यार्थीका लागि सहुलीयत स्वरुप ६० रुपैयाँ तोकिएको महासचिव अधिकारीले जानकारी दिइन् । उनका अनुसार साँझको सुगम संगीत तथा लाईभ कन्सर्टका लागि भने तीन सय रुपैयाँ टिकटदर तोकिएको छ ।

महोत्सव दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । महोत्सवमा कुल नौ करोड आर्थिक कारोबार हुने संघले प्रक्षेपण गरेको छ ।

महोत्सवमा ८० लाख खर्च हुने अनुमान गरिएको संघका अध्यक्ष विनोद श्रेष्ठले बताए । महोत्सवबाट ९० लाख आम्दानी गरी १० लाख बचत गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

महोत्सवबाट बचत रकम महोत्सव प्रदर्शनी स्थल, संघको भवन स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको विकास, पर्यटनतर्फ बेगनासतालमा अवस्थित बराह मन्दिरको संरक्षण, कोशेली घर निर्माणलगायतका काममा खर्च गरिने उनले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस