कवि शिरोमणि लेखनाथ जन्मजयन्तीः पत्रकार, साहित्य अन्वेषक, स्रष्टा र विद्यार्थी पुरस्कृत

पोखरा । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार पत्रकार ऋषिकान्त पौडेल,  दीपक परियारलगायतका व्यक्तित्वलाई सम्मान गरिएको छ ।

कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठानको आयोजनामा कवि शिरोमणिको जन्मस्थल अर्घौंअर्चलेमा आयोजित एक कार्यक्रमबीच पत्रकार, साहित्य अन्वेषक, स्रष्टा र विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा लेखनाथ साहित्य पुरस्कारबाट वरिष्ठ साहित्य अन्वेषक प्राडा दयाराम श्रेष्ठ(सम्भव)लाई सम्मान गरिएको छ । उनलाई ५० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरिएको हो ।

उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले संयुक्त रुपमा सम्मान गरेका थिए ।

यसैगरी साहित्यकार सरस्वती प्रतिक्षालाई कुन्तिदेवी साहित्य पुरस्कारबाट सम्मान गरिएको छ । उनलाई २५ हजार रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

यस्तै चन्द्रकान्त ढकालको स्मृतिमा स्थापित एवं लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ सांस्कृतिक पुरस्कारबाट शिवहरि ढुङ्गानालाई पुरस्कृत गरिएको छ । उनलाई २५ हजार रुपैयाँ नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

यता, लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट ऋषिकान्त पौडेल र शेरविष्णुमाया गुरुङ लेखनाथ पत्रकारिता पुरस्कारबाट दीपक परियारलाई सम्मानित गरिएको छ ।

पत्रकारद्वयलाई क्रमशः ११ हजार एक सय ११ र पाँच हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

मधुमाया शिक्षा पुरस्कारबाट जनज्योति माविमा यस वर्षको एसइईमा प्रथम हुने करुणा गौतमलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको बताइन्छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणिको जन्मस्थललाई साहित्यिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न लागिएको बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्तले नेपाली साहित्यको विकासमा लेखनाथ पौड्यालले गर्नुभएको योगदान अतुलनीय भएको बताए ।

सम्मानित व्यक्तित्व प्राडा श्रेष्ठले कवि शिरोमणिको जन्मस्थल साहित्यिक तीर्थस्थल भएको बताए । उनले यसलाई साहित्यानुरागीको गन्तव्यका रूपमा विकास गर्नुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा पौडेल वंश महासङ्घका केन्द्रीय अध्यक्ष हरिराम पौडेल, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्ची, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाललगायतले नेपाली साहित्यको विकासका लागि लेखनाथ पौड्याल गर्नुभएको योगदानबारे चर्चा गरेका थिए ।

कवि शिरोमणि जन्मस्थल विकास समिति कार्यवाहक अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button