पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजनामा ४९औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा ‘गण्डकी प्रदेशमा क्रियाशील पार्टीका नेताको दृष्टिमा एकता र मेलमिलाप’ विषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश मातहत रहेका नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी), जनमोर्चा नेपाल, जनता समाजवादी लगायतका पार्टीका नेता सहभागी थिए ।
प्रवचनमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा सभापति शर्माले राष्ट्रियता र प्रजातन्त्रका लागि वीपीले अगाललेको मेलमिलापको नीति अझै पनि समय सान्दर्भिक भएको बताए ।
राष्ट्रियता मात्र हैन उहाँले नेपाली जनताको जीवनस्तर माथि उकास्न गर्नुभएको योगदानको चर्चा गरेरै नसकिने शर्माले बताए ।
उनले थपे, ‘आफूमाथि मृत्यु दण्डका आठ-आठवटा मुद्दा चलिरहँदा पनि स्वदेश फर्कने निर्णय गरेर जननेता वीपीले साहसको उच्च उदाहरण प्रस्तुत गर्नुभएको थियो ।’
सभापति शर्माले भने, ‘आफ्नो ज्यानको समेत प्रवाह नगरि २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर वीपी स्वदेश फर्किएपछि करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग्दै बीपीसँगै गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता स्वदेश फर्किनुभएको थियो ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रियता र प्रजातन्त्र स्थापित गर्नकै लागि उहाँले तत्कालीन राजासँग मेलमिलाप गरेको बताए । मुख्यमन्त्रीले भने, ‘राष्ट्रियता र प्रजातन्त्र कमजोर भएको अवस्थामा वीपीले मेलमिलापको नीति लिनुभएको हो ।’
‘मेलमिलापको नीतिका कारण हामी जनमत संग्रह हुँदै लोकतान्त्रिक गणतन्त्रसँगसम्म आइपुगेका छाैँ’, मुख्यमन्त्रले थपे, ‘द्वन्दमा फसेको माओवादीलाई पनि शान्ति प्रक्रियामार्फत प्रजातान्त्रिक बाटोमा ल्याइएका छौँ ।’
प्रजातन्त्रको रक्षा र समृद्धिलाई ध्यान दिँदै अहिले पनि दुई ठूला दल काँग्रेस र एमालेबीच मेलमिलाप गरेर अगाडि बढेको उनको भनाइ छ ।
राजनजीति स्थिरता हुन सकेन भने नेपाली जनताले दुःख पाउने देखेर नै ठूला दल मिलेर संरकार गठन गरेको बताउँदै उनले यो नीति भोलिका दिनमा पनि लागू हुने बताए ।
नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रथम जननिर्वाचित वीपी कोइरालाले राष्ट्रियता जोगाउन ठूलो जोखिम मोल्नु भएको भन्दै अहिले पनि उहाँको योगदानलाई भुल्न नसकिने बताए ।
राष्ट्रिय शक्तिलाई बलियो बनाउन आएको संघीयताका बारेमा विरोध र टीका टिप्पणी गर्नु गलत भएको बताउँदै राजनीतिमा लाग्नु भनेको समाज सेवा भएको बताए ।
राजनीतिक अस्थिरताका कारण देश अराजकतातर्फ जान लागेकै कारण दुई ठूला दल मिलेर सरकार गठन गरेको उनले बताए ।
देशलाई राजनीतिक स्थिरता ठूला दलहरुले मात्र दिन सक्ने बताउँदै उनले नयाँ दलले राजनीतिक स्थिरता दिन नसक्ने बताए ।
नेकपा (एकीकृत समाजवादीं) का केन्द्रीय सचिव श्रीनाथ बरालले वीपीले अगालेको बाटोलाई दलहरुले अगाल्दै जाने हो भने नेपालमा धनी र गरीबबीचको खाडल कम हुँदै जाने बताए ।
त्यति बेलाको समयमा प्रवासमा बसेकै बेला राष्ट्रियता र प्रजातन्त्रप्रति चिन्तित वीपीको मेलमिलाप नीतिबाट नै आज हामी यहाँसम्म आइपुगेको भनाइ उनको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री पञ्चराम गुरुङले मुलुक बचाउन फुटेर हैन मिलेर जानुपर्छ भन्ने नीति लिएकै कारण वीपी राजनीतिमा सफल भएको बताए । उनले देशको ठूलो पार्टी नेपाली कांग्रेसले प्रजातन्त्र र देशप्रति माया गर्ने दललाई समेटेर अगाडि बढ्नुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका नेता शंकर बरालले राष्ट्रियता र प्रजातन्त्र रक्षाका लागि वीपी कोइराला दूरदर्शी नेताको रुपमा चिनिँदै आएको बताए । उनले लोकतन्त्र नै खतरामा पार्ने गरी ल्याइएको संघीयता खारेज गर्नुपर्नेमा जोड दिए ।
नेपाल समाजवादी पार्टीका नेता किरण थापाले राष्ट्रियता भूगोलमा मात्र नभएर नेपाली जनताले पनि अनुभूति गर्नु पाउनुपर्ने बताए । वीपीको मेलमिलाम नीतिलाई ठूला पार्टीले त्यति महत्व नदिएको उनको भनाइ छ ।
कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी र प्रवक्ता माधवप्रसाद बास्तोलाले पनि बोलेका थिए ।