कास्की कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण, औषधिसमेत वितरण

पोखरा । कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार जाँचसहित औषधि वितरण गरिएको छ ।

युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निःशुल्क शिविर भएको हो ।

कैदी, बन्दीको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो ।

शिविरमा दुई सय ६० जनाको जाँच गरिएको छ । कास्की कारागारमा कैदी, बन्दी, सुरक्षाकर्मीसहित करिब नौ सयको बसोबास छ ।

शिविरमा सहभागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी कारागारमा रहेका कैदीबन्दीका विभिन्न खाले समस्या देखिएको बताउँछन् ।

‘सबैजसोमा कोलेस्ट्रोल निकै उच्च देखियो’, डा अधिकारी भन्छन्, ‘धेरैले मानसिक समस्या जस्तोः निद्रा नलाग्ने, छटपटी हुने गरेको सुनाए, कहिल्यै जाँच गर्न नपाएका मधुमेह, प्रेसर निकै उच्च भएका पनि भेटिए ।’

चिल्लो खाना, व्यायामको कमी, आवश्यक परामर्शको अभाव, कसरत नहुनुका साथै बेलैमा उपचारको व्यवस्था नहुँदा यस्तो अवस्था देखिएको डा अधिकारीले औंल्याए ।

युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ स्वास्थ्य उपचारको निकै आवश्यक रहेका कैदीबन्दीको परीक्षणसहित औषधिसमेत वितरण गरिएको बताए ।

‘हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर शिविर आयोजना गरेका हौँ’, अध्यक्ष पन्तले भने, ‘सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यहाँ आइपुगेका हौँ । करिब ३ लाखको औषधीसमेत वितरण गरिएको छ ।’

युआरएल फाउन्डेसनका सचिव गणेशप्रसाद कोइरालाले पहिलो पटक यसरी शिविर गरिएको जनाउँदै कारागारमा दन्तसहित विभिन्न रोगका शिविर जरुरी रहेको औँल्याए ।

कैदी बन्दीको स्वास्थ्य सेवालाई बनाउन यस्ता शिविरले सघाउने कारागार प्रमुख राजेन्द्र शर्माको भनाइ छ ।

उनले सीमित स्रोतका बाबजुद पनि आफूहरु कारागारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button