सामुदायिक वन उद्योग दर्ताको अभावमा वनमा डढेलो

  • पोखरा न्यूज
  • २०८१ पौष १७
सामुदायिक वन उद्योग दर्ताको अभावमा वनमा डढेलो

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभावले वन डढेलो बढ्ने गरेको बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित वन उद्यम, विकास पर्यापर्यटन विषय अन्तरक्रियामा उनले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक बर्ष डढेलोको प्रकोप बढ्ने गरेको बताए ।

“हिँउदको मौसममा वन क्षेत्र सुक्का हुने र पात पतिङ्गरमा छिटो आगोले टिप्ने हुँदा जोखिम बढ्ने गरेको हो”, उनले भने, “वन समूहका उपभोक्तामा सोत्तरलाई संकलन गरेर प्राङ्गारिक मल उत्पादन गर्न उद्योग ऐनले सामुदायिक वन उद्यम दर्ता रोकेको छ ।”

उपभोक्ताले वनको संरक्षण संवर्द्धन र विकासमा योगदान गर्दै आएको भन्दै उनले उपयोगमा कतिपय कानूनी अड्चनले गर्दा उपयोगको पाटो कमजोर बन्दै गएको कारण संरक्षणमा समेत जटिलता उत्पन्न भएको बताए ।

सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

मानव वन्यजन्तु द्वन्द बढ्दै जाँदा सुरक्षाको कारण स्थानीय वासिन्दा सहर केन्द्रित हुन बाध्य हुँदा ग्रामीण क्षेत्रका अधिकांश जमिन बाँझिएको उनको भनाइ थियो ।

तीनै तहका सरकारले वनको संरक्षणकर्ता उपभोक्तालाई विभिन्न वाहनामा दुःख दिने गरेको बताउँदै उनले वन कार्यायोजना विधानको परिधिभित्र रहेर कार्य सम्पादन गर्न उपभोक्ता समूहलाई आग्रह गरे ।

वन क्षेत्रमा निर्माण गरिने प्रत्येक संरचनामा फलाम होइन काठ प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।

महासंघ गण्डकी अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता कुमाल, केन्द्रीय सदस्य हरि बास्तोला, दोवबहादुर कार्की, खुमप्रसाद सुवेदी, पशुपति ठकुरी, सीता गुरुङ, सीता खड्का, रत्ना घिमिरे डोलकुमारी सापकोटा, प्रदेश महासचिव आसु विक, सचिव केशवचन्द्र न्यौपानेलगायतले बोलेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस