गण्डकी प्रदेश बन्यो फुटबल च्याम्पियन

  • पोखरा न्यूज
  • २०८१ पौष १८
गण्डकी प्रदेश बन्यो फुटबल च्याम्पियन

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयको फुटबल टोलीले ४२औँ आइजीपी कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको फुटबल टोलीलाई २-१ को गोल अन्तरले हराउँदै गण्डकीले उपाधि हात पारेको हो ।

नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा यही पुस ७ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन भएको थियो ।

खेलमा प्रहरी सहायक हवल्दार तिलक महतो र प्रहरी जवान सुविन चन्दले गोल गरेका थिए ।

प्रतियोगितामा प्रहरी जवान निर्मल गुरुङ खेलको म्यान अफ द म्याच, प्रतियोगिताकै सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फर्वाड प्रहरी नायव निरीक्षक केशर बराम, सर्वोत्कृष्ट खेलाडी प्रहरी नायव निरीक्षक विवेक गुरुङ र प्रहरी जवान जीवन सिंह ठकुरी उत्कृष्ट गोलरक्षक बन्न सफल भए । गण्डकीकै प्रहरी नायब निरीक्षक सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

गण्डकीले लिग चरणको पहिलो खेलमा मधेशलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा कोशी प्रदेशसँग बराबरीमा खेलेको थियो । साथै तेस्रो खेलमा कर्णाली प्रदेशलाई ७-१ गोलको अन्तरले पराजित गरेको थियो । गण्डकीले गतवर्ष पनि उपाधि हात पारेको थियो ।

यसैबीच विजयी खेलाडी टोलीलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) भोलाबहादुर रावलले ट्रफी प्रदान गरे । साथै उनले टोलीका व्यवस्थापक, प्रशिक्षक र खेलाडीलाई पुरस्कारसमेत प्रदान गरे ।

कार्यक्रममा डीआइजी रावलले खेल एक साधना भएकोले खेलले अनुशासन, टोली भावना र नेतृत्व क्षमता विकास गर्न सघाउने विश्वास व्यक्त गरे ।

खेलाडी सधैँ आफ्नो साधनामा सक्रिय रहनुपर्नेमा जोड दिँदै डीआइजी रावलले आइजीपी कप च्याम्पियन बन्दा समग्र गण्डकी प्रदेश प्रहरीलाई थप उर्जा प्रदान गरेको दावी गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस