पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा २०औँ लेखनाथ महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।
महोत्सव उद्घाटन अघि विभिन्न जनजातिको भेषभूषामा झाकीसहित र्याली प्रदर्शन गरिएको थियो ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकारबाट स्टेजशो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रमलगायतका कार्यक्रम हुनेछन् ।
यस्तै, रत्यौली गीत प्रस्तुति, ख्यातिप्राप्त कलाकारबाट दैनिक प्रस्तुति, सुगम सङ्गीत, लाइभ कन्सर्टलगायतका थुप्रै मनोरञ्जनात्मक कार्यक्रम पनि महोत्सवमा हुनेछन् ।
संघका अध्यक्ष विनोद श्रेष्ठका अनुसार आउँदो माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय ३६ वटा स्टल राखिएको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने नाराको साथ आयोजना गरिइको हो ।
महोत्सवमा दुई लाख ५० हजार भन्दा बढी दर्शक सहभागी हुने अध्यक्ष श्रेष्ठको आकलन छ । साथै नौ करोड रुपैयाँको आर्थिक कारोबार हुने र यसले थोरै भए पनि आर्थिक क्षेत्र चलायमान बनाउने अपेक्षा पनि उनको छ । महोत्सवबाट करिब ९० लाख आम्दानी र करिब ८० लाख खर्च भई १० लाख रुपैयाँ बचत हुने अपेक्षा छ ।
सङ्घले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट महोत्सव शुरु गरेको थियो । साथै २०६१ सालदेखि लेखनाथ महोत्सव गर्दै आएको संघले जनाएको छ ।
महोत्सवको माध्यमबाट लेखनाथ र कास्की क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण, कृषि सामग्री एवं महिला उद्यमीको उत्पादनको प्रदर्शनी एवं बिक्री हुने दावी छ ।
लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिँदै आएको र उत्पादक र उपभोक्तालाई एकै ठाउँमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्ने महोत्सवका सह-संयोजक राजेन्द्र ओझाको दावी छ ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न महोत्सवले थप मद्दत पुग्ने प्रचारप्रसार संयोजक जानुका पराजुलीको दावी छ ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले निजी क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिने बताए ।
उनले कोभिडपछि देशको खस्कँदो अर्थतन्त्रलाई अब निजी क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने बताए ।
नेपालको पर्यटन राजधानी पोखरामा गण्डकी प्रदेशमा निजी क्षेत्रसँगको साँझेदारीमा पर्यटनको क्षेत्रमा सरकारले काम गर्न तयार रहेको उनले बताए ।
नीति नियमका कारण उद्योग, व्यापार, व्यवसायको क्षेत्रमा समस्या परेको र प्रदेश सरकारबाट संशोधन गर्नु परेमा सरकारले तत्काल संवोधन गर्ने उनले बताए । समृद्ध गण्डकी प्रदेश बनाउने अभियानमा सबैको सहकार्य जरुरी रहेको मुख्यमन्त्रीको भनाइ थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution