दुई डुङ्गा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार

पाेखरा । मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।

मध्य ट्युनिसियाको केर्केन्ना टापुमा फेला परेका उद्धार गरिएका र मृत यात्रुहरु युरोप पुग्ने लक्ष्यमा रहेको र उनीहरु सबै उपसहारा अफ्रिकी मुलुकका रहेको स्फ्याक्स शहरका नागरिक सुरक्षा प्रमुख जिद दिरीले जानकारी दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

ट्युनिसियाली नेसनल गार्डका अनुसार अन्य सम्भावित हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।

ट्युनिसिया अनियमित आप्रवासीहरूको लागि यूरोप छिर्ने एक प्रमुख प्रस्थान बिन्दु हो । ट्यूनिसियाको बाटो इटाली हुँदै युरोप पुग्न चाहने आप्रबासी सङ्ख्या अत्यधिक रहने गरेको छ । इटालीको लाम्पेडुसा टापु ट्युनिसियाबाट केवल १५० किलोमिटर (९० माइल) टाढा छ।

प्रत्येक वर्ष, दशौं हजार मानिस खतरनाक भूमध्यसागरीय मार्ग हुँदै युरोप छिर्ने गर्छन् र यात्राका लागि डुङ्गाको साहरा लिने र खराब मौसमको पनि बेवास्ता गर्ने गर्छन् । यस्ता यात्राले सामुद्रिक क्षेत्रमा उनीहरूले अकालमा ज्यान गुमाउने गरेका पाइन्छ ।

गत डिसेम्बर १८ मा सब-सहारा अफ्रिकाका कम्तीमा २० आप्रवासीको स्फ्याक्स सहरमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको थियो भने अन्य पाँच जना बेपत्ता भएका थिए।

यसअघि डिसेम्बर १२ मा कोस्टगार्डले स्फ्याक्सको उत्तरमा रहेको जेबेनियाना नजिकै २७ जना अफ्रिकी आप्रवासीको उद्धार गरेको थियो।

यस वर्षको सुरुदेखि नै ट्युनिसियाली मानव अधिकार समूह एफटीडीईएसले ट्युनिसियामा पानीजहाज दुर्घटनामा मारिएका वा बेपत्ता भएका ‘६०० देखि ७००’ आप्रवासीहरूको गणना गरेको छ। सन् २०२३ मा एक हजार ३०० भन्दा बढी आप्रवासीको हताहत (मृत्यु वा बेपत्ता) भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button