पोखरा । तिब्बतको दिङ्गे काउन्टीमा केन्द्रबिन्दू भएर गएको ७ दशमलव १ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कम्तीमा ९५ जनाको मृत्यु भएको छ ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार ६२ जना घाइते भएका छन् । सिन्ह्वाले ६दशमलव८ रेक्टर स्केल बताएको छ भने बीबीसीले भने ७ दशमलव १ रेक्टर स्केल भनिरहेको छ ।
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाली समयअनुसार बिहान ६ः५० बजे नेपाल-चीन सीमामा पर्ने उक्त स्थानमा ७दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
दिङ्गे काउन्टी नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।
तिब्बतको दिंगे केन्द्रविन्दु भएर भूकम्प जाँदा नेपालमा १३ जना घाइते भएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीका अनुसार, काठमाडौंमा १, बारामा ११ काभ्रेमा १ जना गरी १३ जना घाइते भएका हुन् ।
उनीहरू सबैको उद्दार गरेर स्थानीय अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् ।
काठमाडौंमा भूकम्प जानेवित्तिकै स्युचाटारका एक व्यक्तिले घरको छतबाट हामफालेका थिए । त्यसक्रममा उनी घाइते भएका हुन् । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
सोलुखुम्बुको हिमाली क्षेत्रमा अन्यत्रभन्दा बढी धक्का महसुस गरिएको थियो । यद्यपि, यो आरोहरणको सिजन नभएको हुँदा थप क्षति भएन ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा महसुस गरिएको थियो ।
भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।
केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालसँगै भारत र भुटानमासमेत भूकम्पबाट क्षति भएको छ । यकिन बिवरण आइसकेको छैन । यद्यपि असर भने परेको छ । काठमाडौँसम्मै लामो समय हल्लाउँदा मानिसहरु आत्तिएर घर बाहिर निस्केका थिए ।
नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर ससाना पराकम्पन आइरहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution