लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा क्षेत्रको सुधारमा सरकारले काम गरिरहेको बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल जिल्ला कार्यसमितिको बेँसीसहर नगरपालिका-८ मा आयोजित ३४औँ प्याब्सन दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरे पनि उपलब्धि राम्रो नभएको र आगामी दिनमा शिक्षा व्यवस्थित गर्दै गुणस्तरीय, सीपमूलक, समयअनुसारको शिक्षा र विदेश पलायन भइरहेका युवालाई स्वदेशमै बस्न सक्नेगरी व्यवस्थित गर्नमा सरकार प्रतिबद्ध रहेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो ।
सरकारको प्रवक्तासमेत रहेका गुरुङले सहकारी ऐनलाई व्यवस्थित बनाउन बनेको अध्यादेश जारी गरेर सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताए ।
उनले भने, “सहकारी कोष खडा गरेर सहकारीमा जम्मा गरेको बचत पाउने व्यवस्था गर्न हामी चाहन्छौँ ।”
सरकारले अझै पुँजीगत खर्च सोचेजति बढाउन नसकेकाले अब पुँजीगत खर्च बढाउने र स्वदेशमा रोजगारीको सिर्जना गर्ने उनले बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले, बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याललगायतले शिक्षा क्षेत्रलाई सङ्घीय सरकारले व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए ।
बुधबार नै आयोजित समतामूलक समाज नेपालको स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्तरीय नेतृत्व विकास तथा सशक्तीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सङ्घीयताका कारण जनजाति, दलित समुदायले विभिन्न अधिकार प्राप्त गर्न सफल भएको बताए ।
उनले दलित समुदायको हकहितका लागि जनप्रतिनिधिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution