सूर्यदर्शनसँग जोडिएका सातै जना अदालतमा, आज आउला फैसला ?

  • पोखरा न्यूज
  • २०८१ पौष २५
सूर्यदर्शनसँग जोडिएका सातै जना अदालतमा, आज आउला फैसला ?

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

लामिछानेसँगै, पूर्वडीआइजी छविलाल जोशी, पूर्वसांसद मीना गुरुङ, व्यवसायी रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र कृष्णबहादुर गुरुङलाई केहीबेर अघि अदालत पर्याइएको हो ।

उनीविरुद्धको मुद्दामा आज सरकारी वकिलको जवाफी बहस हुनेछ । वादी र प्रतिवादीकातर्फबाट बहस बुधबार सकिएको थियो ।

सरकारी वकिलको जवाफी बहससँगै न्यायाधीश नीतिज राईले आजै आदेश दिने सम्भावना छ । उनले पुर्पक्षका लागि थुनामा पठाउने र धरौटीमा छाड्ने निर्णय गर्न सक्छन् ।

फैसला आउने सम्भावनालाई ध्यानमा राख्दै कास्कीमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । चोकचोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
कास्की जिल्ला अदालतमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस जारी छ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय कास्कीले अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा अघि बढाइएको हो ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ भने लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस