संगीतकार जोजिजूलाई सोम बज्राचार्य स्मृति संगीत पुरस्कार

  • पोखरा न्यूज
  • २०८१ पौष २५
संगीतकार जोजिजूलाई सोम बज्राचार्य स्मृति संगीत पुरस्कार

पोखरा । सोम बज्राचार्य स्मृति संगीत पुरस्कार-२०८० वरिष्ठ गायक एवं संगीतकार रामभक्त जोजिजूलाई पुरस्कृत गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले जोजिजूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाई गीत संगीतका क्षेत्रमा विगत तीन दशकदेखि गायन क्षेत्रमा क्रियाशील रामभक्त जोजिजूले २०५१ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीण गरी ‘समाल ती पाइलाहरु’ बोलको गीत रेर्कड गराएका थिए ।

२०५५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ‘उडेर जुन छुन्छु भन्थे’ गीत गाएर उनी प्रथम भए । यो गीतले उनको परिचयलाई फराकिलो बनाएको थियो ।

मञ्जुश्री संगीत महाविद्यालयमार्फत इलाहावादबाट संगीत शिक्षा लिएका जोजिजूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रममा आफ्नो प्रतिभा देखाइसकेका छन् ।

निरन्तर लगाव र महत्वपूर्ण योगदान दिएका उनले थुप्रै अवार्ड र पुरस्कार पाइसकेका छन् । नेपाली गीत सङ्गीतको क्षेत्रमा उनले दिएको योगदानको कदर स्वरुप सोम बज्राचार्य स्मृति संगीत पुरस्कार प्रदान गर्न लागिएको प्रतिभा छनाेट समिति संयोजक कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।

गायक तथा संगीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी धर्मपत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडागरी परिवारद्वारा सञ्चालित यो पुरस्कारबाट यसअघि बिमाकुमारी दुरा, श्यामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा, सुनिल थापा, कर्ण दास र श्यामलाल श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

जोजिजूलाई आगामी माघ ५ गते पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष रीता अधिकारीले जानकारी दिइन् ।

 

 

 

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस