भारतको तिरुपति मन्दिरमा भागदौड हुँदा कम्तीमा छ जनाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ पौष २५
भारतको तिरुपति मन्दिरमा भागदौड हुँदा कम्तीमा छ जनाको मृत्यु

पोखरा । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बिहीबार बताएका छन् ।

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वेङ्कटेश्वर स्वामी (तिरुपति) मन्दिरको दर्शनका लागि प्रवेश द्वारमा टोकन लिन ठूलो भीड जम्मा भएका समय एकाएक भागदौड मच्चिएको थियो ।

“हजारौँ धर्मावलम्बी भेला भएको मन्दिर परिसरमा भएको दुर्भाग्यपूर्ण घटनामा छ जना भक्तजनको ज्यान गएको छ । दिवङ्गत आत्माको शान्तिका लागि म भगवानसँग प्रार्थना गर्दछु,” राज्यको सत्तारुढ तेलुगु देशम पार्टीका प्रवक्ता प्रेमकुमार जैनले घटनाको पुष्टि गर्दै दुःख व्यक्त गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्रीकोे कार्यालयले सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनिएको छ, “यस दुःखद् घडीमा घटनामा ज्यान गुमाएका भक्तजनप्रति श्रद्धाञ्जलि अपृण गर्दछु, साथै, घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्य र आपन्तजनप्रति समवेदना व्यक्त गर्दछु ।“

भारतका प्रमुख धार्मिक चाडमा भीडभाड व्यवस्थापन र सुरक्षाको कमीका कारण धार्मिक स्थलमा घातक दुर्घटना हुने गरेका छन्।

गत वर्ष जुलाईमा उत्तर प्रदेशमा हिन्दू धर्मावलम्बीको धार्मिक जमघटका क्रममा एक सय २१ जनाको मृत्यु भएको थियो ।

सन् २०१६ मा दक्षिणी केरला राज्यको एक मन्दिरमा नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतशबाजी प्रदर्शनका कारण भएको विस्फोटमा परी एक सय १२ जनाको मृत्यु भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस