पोखरा। र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा डा. रेणुका सोलुको निबन्ध कृति ‘तुइन जिन्दगी’ को परिचर्चा गरेको छ ।
कृतिको परिचर्चा गर्दै नेपाली लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले सोलुले निबन्धमा सत्यमाथिको अन्याय, अत्याचार र थिचोमिचोका विरुद्ध परिवार, समाज र सरकारसित कडा प्रतिवाद गरेकी बताए ।
“आमाहरू र समस्त नारी जातिमाथिको विभेद तथा विभेदपूर्ण समाज, संस्कार तथा परिवेशमाथिको उनको यो खबरदारी साँच्चै प्रशंसायोग्य छ”, डा. अधिकारीले भने, “एउटी नारीको सङ्घर्षपूर्ण जीवनको लामो फेहरिस्त किताबमा छ ।”
जीवन बाँच्ने वा बाँच्न चाहने धेरै आमादिदीबहिनीको भावनालाई कृतिले समेटेको बताउँदै उनले सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक दुर्गमता तथा दुरवस्थाले गाँजिएका आम नारीको चेतना र सङ्घर्षको दस्तावेजका रूपमा कृति आएको बताए ।
‘तुइन जिन्दगी’ नारीमाथि गरिएका अन्याय, अत्याचार, कुसंस्कृति, धार्मिक-सामाजिक असामानता, विभेद आदि इत्यादिका विरुद्ध उभिएको एउटा लिखित दस्तावेजको समष्टिगत स्वरूपका रूपमा आएको डा. अधिकारीको भनाइ थियो ।
निबन्धकार सोलुले आफूले जीवनमा भोगेका तितामिठा कुरालाई अनुभूतिको गहिराइमा पुगेर लेखेको बताइन् ।
कृतिमा लेखिएका निबन्ध यथार्थको धरातलमा टेकेर लेखिएको बताउँदै डा. सोलुले आज पनि महिलाले भोग्नुपरेको अनेकौँ पीडा लेखिसाध्य नै नभएको बताइन् ।
विश्वविद्यालय जस्तो प्राज्ञिक निकायमा समेत महिला हिंसाको कहालीलाग्दा घटना आफूले देखेको बताउँदै उनले समाज परिवर्तनका लागि सचेत वर्गले आवाज उठाउन छोड्न नहुने बताइन् ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा गुञ्जन साहित्य समाजकी अध्यक्ष जलेश्वरी श्रेष्ठ र संस्थापक अध्यक्ष पद्मावती सिंहले शुभकामना दिएका थिए ।
सोसाइटीका सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा डा. रजनी ढकाल, कुमार तामाङ, बाबुराम सुवेदीलगायतले टिप्पणी गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution