पश्चिम नेपालबाट पुनः मौसम बदली, देशभर फैलिने

  • पोखरा न्यूज
  • २०८१ पौष २७
पश्चिम नेपालबाट पुनः मौसम बदली, देशभर फैलिने

|प्रतिनिधिमूलक तस्बिर

पाेखरा । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिइन् ।

उनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण यसरी बदली सुरु भएको हो । आइतबार दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली हुने मौसमविद् महर्जनले बताइन् ।

आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात हुने बताउँदै मौसमविद् महर्जनले दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन् ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

केही दिनअघि भएको बदली जस्तै देखिने भए पनि ठूलो पानी पार्ने ‘स्ट्रङ’ प्रणाली भने नदेखिएको बताउँदै उनले सोमबारदेखि मौसम सुधार हुने जानकारी दिइन् ।

तराईका कतिपय क्षेत्रमा क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। पछिल्ला दिनमा देशभरको चिसो बढिरहेकाले ठाउँठाउँमा जनजीवन प्रभावित भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस