पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुक्त आयोजनामा भएको “गण्डकीका धुनहरु” नामक कार्यक्रममा उनले गण्डकी प्रदेशको सांगीतिक सम्पदाको महत्व र यसलाई संरक्षण गर्ने आवश्यकतामा जोड दिएका हुन् ।
मन्त्री थापाले प्रदेशका मौलिक बाजाको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरणलाई प्राथमिकतामा राखिने बताए ।
“गण्डकी प्रदेश गीतसंगीतको उर्वर भूमि हो, यहाँका सिर्जना विश्वप्रख्यात छन्, गण्डकीका सर्जकका सिर्जनालाई संरक्षण गर्न नै गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको हो, जसमाध्यम विविध कार्यक्रम हुँदै आएका छन्”, उनले भने ।
कार्यक्रममा पञ्चेबाजा, सारंगी, बाँसुरी, धिमे, सनई, टुङ्ना, मादल, खींलगायतका मौलिक बाजा एकै मञ्चमा प्रस्तुत भएको देख्न पाउँदा खुशी लागेको उनले उल्लेख गरे ।
उनले प्रस्तुत बाजाहरूको ध्वनि र धुनले गण्डकी प्रदेशको सांगीतिक विविधतालाई प्रतिनिधित्व गरेको बताए ।
“हामी धुन र बाजाका हिसाबले धनी छौँ, यसलाई संरक्षण गर्दै आगामी दिनमा प्रवर्द्धन गर्न हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ”, उनले भने ।
मन्त्री थापाले गण्डकी प्रज्ञा-प्रतिष्ठानको यस पहलको प्रशंसा गर्दै यस्तो कार्यक्रमले सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने विश्वास व्यक्त गरे ।
उनले आफ्नो मन्त्रालयको यस्ता सांस्कृतिक गतिविधिमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री थापाले गण्डकीका मौलिक बाजाहरू जोगाउन सरकार, कलाकार र स्थानीय समुदायको सामुहिक प्रयास जरुरी रहेको उल्लेख गरे ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यक्रमको महत्वलाई रेखांकित गर्दै गण्डकीको सांस्कृतिक धरोहर जगेर्ना गर्न यस्ता कार्यक्रमले खेल्ने भूमिकाको प्रशंसा गरे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले अग्रज स्रष्टालाई सम्मान र नयाँ पुस्तालाई मौलिक बाजाहरू प्रतिको आकर्षण बढाउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।
कार्यक्रमले सांस्कृतिक पहिचानलाई बचाउन र नयाँ पुस्तालाई प्रेरित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनको छ ।
कार्यक्रममा काठमाडौँ र गण्डकीका ४० भन्दा बढी वाद्यवादकले नेपाली मौलिक बाजाहरूको माध्यमबाट सांगीतिक धुन प्रस्तुत गरे ।
संगीत संयोजक तथा निर्देशक प्राज्ञ अशोक राईले पोखरामा पहिलो पटक अर्केष्ट्राको स्वरूप प्रदर्शन गरिएको जानकारी दिए ।
उक्त अभियानले गण्डकीका धुनलाई प्राथमिकतामा राखेर सांगीतिक पहिचानलाई बलियो बनाउने प्रयास भएको भनाइ उनको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution