अन्ततः भत्काइयो ऐतिहासिक ‘पोखरा गेट’ [तस्बिर]

  • पोखरा न्यूज
  • २०८१ पौष २९
अन्ततः भत्काइयो ऐतिहासिक ‘पोखरा गेट’ [तस्बिर]

पोखरा । पृथ्वीराजमार्गअन्तर्गत पोखराको कुँडहरचोक नजिकैको ऐतिहासिक ‘पोखरा गेट’ गएराति भत्काइएको छ । पोखरा-मुग्लिन सडक विस्तार गर्ने क्रममा सो गेट सडकको बीचमा परेपछि भत्काइएको हो ।

राजा वीरेन्द्रको शुभराज्यभिषेकका अवसरमा पोखरामा स्वागतार्थ कलात्मक गेट निर्माण गरिएको थियो । गेटको माथिल्लो भागमा बुद्ध र शिवको मूर्ति बिचमा श्रीपेच राखिएको थियो ।

गेट भत्काउने र नयाँ पुननिर्माण गर्ने विषयमा बहस हुँदै आएको थियो । साथै राजनतिक दल राप्रपा, स्थानीय युवा क्लब र सरोकारवालाले गेट नभत्काउन दबाब दिँदै आएका थिए ।

तर विकल्प नभएपछि उक्त गेट भत्काइएको बताइन्छ । पोखराको ऐतिहासिक सम्पदा विकल्पबिनै भत्काइएको भन्दै राप्रपा र स्थानीय आक्रोशित भएका छन् ।

छापामार शैलीमा गेट हटाइएको भन्दै राप्रपा केन्द्रीय सदस्य अरुण गिरीले उक्त कार्यको विरोध गरे ।

गिरी मुलुकको ऐतिहासिक धरोहर भोलिका पुस्ताका लागि पनि जोगाएर राख्नुपर्ने बताउँछन् । सडक बिस्तार होस् वा भौतिक संरचना निर्माणमा पुराना संरचनालाई तारो बनाउन नहुने, त्यसको पुननिर्माण गरिनुपर्नेमा उनकाे जोड छ ।

यस सम्बन्धमा छलफल गर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले केही दिन अघि सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएका थिए । सो बैठकले कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।

मेयर आचार्यले भने गेट उपयुक्त ठाउँमा निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । राजमार्गको काम सकिएपछि उपयुक्त ठाउँमा पोखरा प्रवेशद्वार बनाउने उनले स्पष्ट पारे ।

तस्बिर



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस