२०औँ लेखनाथ महोत्सव मंगलबार समापन हुँदै

पोखरा । बीसौँ लेखनाथ महोत्सव मंगलबार सकिँदैछ । महोत्सव समापन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम छ ।

महोत्सवको १२औँ दिन सकिँदा दुई लाख ४५ हजार दर्शकले अवलोकन गरेका छन् भने सात करोड ९५ लाखको कारोबार भएको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका आयोजित महोत्सवअन्तर्गत सोमबार मात्रै २५ हजार दर्शकले अवलोकन गरेको प्रचार संयोजक जानुका पराजुलीले जानकारी दिइन् । उनका अनुसार सोमबार मात्र एक करोड बराबरको कारोबार भएको छ ।

महोत्सवमा आयोजित महिला हाजिरी जवाफ प्रतियोगितामा पोखरा-३० को नारी विकास आमा समूह प्रथम, पोखरा-२६ को सिर्जना महिला समूह द्वितीय, पोखरा-३० कै गार्डेन सिटी आमा समूह तृतीय र पोखरा-२९ को समाज सुधार आमा समूहले सान्त्वना स्थान हाँसिल गरेको संयोजक प्रभाकुमारी लामिछानेले जानकारी दिइन् । विजयी समूहले क्रमशः २५, २०, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी रत्यौली गीत प्रतियोगितामा ३३ समूहमध्ये छनोटमा परेका २२ समूहले महोत्सव स्थलमा प्रस्तुति राखेको संयोजक गंगा मल्लले जानकारी दिइन् ।

सोमबार नै विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगीलाई पुरस्कार प्रदान गरिएको छ ।

सोमबार कलाकार प्रजापति पराजुली, तारापती सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापाको प्रस्तुति रह्यो भने साँझ लाइभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानीय ब्याण्ड सुजित एण्ड दि वार्यस व्याण्डको प्रस्तुति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button