पोखराको सेदीमा आधुनिक प्रहरी विट स्थापना, १२ सिसी क्यामरा जडान

  • पोखरा न्यूज
  • २०८१ फागुन ७
पोखराको सेदीमा आधुनिक प्रहरी विट स्थापना, १२ सिसी क्यामरा जडान

पोखरा । पोखराको सेदीमा आधुनिक प्रहरी विट स्थापना भएको छ । पोखरा-१८ मा नवनिर्मित प्रहरी विट सेदीको बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भोलाबहादुर रावलले उद्घाटन गरे ।

सवारीसाधनको नम्बरप्लेट समेत देखिने गरी दुईतर्फी सिसी क्यामरा जडान गरिएको नवनिर्मित प्रहरी विट सेदीमा प्रहरीको लागि कार्यालय, भान्सा कोठा, सुत्ने कोठा, शौचालय र बाथरुमसमेत रहेका छन् ।

करिब १६ लाखको लागतमा सेदीको वाई.यु.के.सुपर मार्केटको प्राङ्गणमा व्यवसायी युवराज खतिवडा र स्थानीयको पहलमा प्रहरी बिट स्थापना भएको हो ।

प्रहरी विटसँगै गैह्राको चौतारादेखि रातोमाटेसम्म करिब २ किलोमिटरको क्षेत्रमा थप १२ वटा सिसी क्यामरा पनि जडान गरिएको छ ।

कार्यक्रममा बोल्दै डिआइजी रावलले लेकसाइडको नजिकै रहेको पर्यटकीय तथा व्यावसायिक क्षेत्रमा प्रहरी विट निर्माण भएको भन्दै विटका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । प्रहरी र नागरिकको सम्बन्धलाई मजबुत पार्दै समाजमा शान्ति सुरक्षा कायम गर्न संगठन क्रियाशील रहेको डिआइजी रावलले बताए ।

कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाले कास्कीमा आफू आएपछि उक्त स्थानमा प्रहरी विट निर्माण गर्न भनी ठाउँ हेर्न गएको स्मरण गर्दै प्रहरी विट बनेकोमा खुसी व्यक्त गरे । एसपी ओलीयाले विट निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरे । प्रहरीलाई प्रविधिमैत्री बनाउँदै कम जनशक्तिको प्रयोगमा शान्ति सुरक्षाको उच्च व्यवस्थापन गर्ने तर्फ कास्की प्रहरी लागेको उनको भनाई थियो ।

वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी सन्तोष निरौलाले लेकसाइडको नजिकै रहेको र पोखराका अन्य वडालाई समेत जोडने उक्त क्षेत्रमा प्रहरी विट निर्माण हुँदा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताए ।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले केही व्यवसायीले प्रहरी विट त्यहाँ हुँदा असर पर्ने हो कि भन्ने चिन्ता समेत गरेको देखिएको तर अहिलेको प्रहरी पर्यटक, व्यवसायी र जनमैत्री भएकाले प्रहरी जनताको पक्षमा रहेको बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस