पोखराको गुप्तेश्वर महादेव गुफामा वाद्यवादन तालिम शुरु

पोखरा । पोखरा -१७ स्थित गुप्तेश्वर महादेव गुफामा एक महिने वाद्यवादन तालिम शुरु भएको  छ ।

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको आयोजना तथा बालन एवं कला संस्कृति प्रतिष्ठान नेपालको संयोजनमा गुफा परिसरको सभाहलमा चैत्र ५ गतेदेखि तालिम शुरु भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बालन एवं कला संस्कृति प्रतिष्ठान नेपालका परिकल्पनाकार खगराज शर्मा आचार्यले देशमा क्रिश्चियन धर्मले जरो गाडेको बेला हिन्दु धर्मको रक्षा र संरक्षण  गर्नुपर्ने बताए ।

नेपाली मौलिक संगीत र धर्म सँग जोडिएको वाद्यवादनको विधालाई समेटेर तालिम आयोजना भएकोमा आचार्यले खुसी व्यक्त गरे । आफ्नो मौलिक धर्म, संस्कृति र कला नभएको मानिसको जीवन निरर्थक हुने जिकिर गर्दै उनले वाद्यवादनले जीवन जगतलाई  सत मार्गमा डोर्‍याउने बताए   ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष एवं  संगीतकार नवराज बरालले तालिमका सहभागीहरूलाई तालिमको तालिका र  आचारसंहिताको बारेमा प्रस्ट पार्दै तालिममा उत्कृष्टता हासिल गर्नेलाई विविध क्षेत्रमा अवसर प्रदान गरिने बताए । अनुशासन, लगनशील र एकाग्र भएर तालिममा सहभागी भएको खण्डमा निपुर्णता हासिल हुने बरालको भनाई थियो ।

गुप्तेश्वर महादेव वेद विज्ञान पाठशालाका प्रधानाचार्य विजयराज आचार्यले गुप्तेश्वरले विविध सामाजिक क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्दै शिक्षा र तालिमसँगै स्वास्थ्य क्षेत्रमा पनि गुप्तेश्वर अघि बढ्न लागेको बताए । स्वार्थ रहित विशुद्ध सामाजिक कार्यका कारण गुप्तेश्वरले आफ्नो छवि उँचो बनाउँदै लगेको उनको भनाई थियो ।

कार्यक्रमका सभापति गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण बास्तोलाले वाद्यवादन तालिमले सहभागीहरू भित्रको कलालाई निखार्ने विश्वास व्यक्त गरे । संगीतले मानव जातिलाई मात्र नभएर पशुपंक्षी र वनस्पतिलाई समेत मन्त्रमुक्त पार्ने भन्दै उनले मानव जीवनमा वाद्यवादन कलाको उच्च महत्त्व रहेको बताए ।

नेपाली मौलिक संगीतलाई सामाजिक स्तरमा जगेर्ना गर्ने उद्देश्यका साथ आमा समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरूलाई समेटेर  तालिम आयोजना गरिएको तालिमका संयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।

वैशाख ५ गते सम्म संचालन हुने तालिममा ४५ मिनेटको एउटा पिरियड बनाएर उत्कृष्ट प्रशिक्षकबाट दिनमा तिन पिरियड कक्षा संचानल हुने पोखरेलले बताए । तालिम अन्तर्गत आइतबार, मंगलबार र बिहीबार हार्मोनियम र बाँसुरी तथा सोमबार, बुधबार र शुक्रबार खैँजडी, मुजुरा र मादलका कक्षा संचालन हुने संयोजक पोखरेलले जानकारी दिए  ।

४५ जना प्रशिक्षार्थी सहभागी रहेको तालिममा सहभागी मध्ये उत्कृष्ट तिन जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ  । तालिममा छोरेपाटन टोल सुधार समितिका अध्यक्ष उत्तम सिग्देल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुबेदी लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button