
पोखरा । पोखराको फेवाताल क्षेत्रमा शनिबारदेखि सिमाङ्कनका लागि भौतिक पोल गाड्न थालिएको छ । सर्वोच्च अदालतले दिएको आदेशको झण्डै दुई वर्षको प्रतीक्षापछि यो प्रक्रिया अगाडि बढाइएको हो ।
यसअघि प्राविधिक समितिले तालको किनारदेखि ६५ मिटर भित्रको क्षेत्र निर्धारण गरी त्यहाँ डिजिटल पोलहरु गाडेको थियो। ती स्थानमै अहिले सोही संख्यामा भौतिक पोलहरु गाड्ने कार्य सुरु गरिएको हो ।
शुभारम्भ समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो पोल, पोखराका मेयर धनराज आचार्यले दोस्रो पोल र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तेस्रो पोल गाडेर अभियान सुरु गरे ।
मुख्यमन्त्री पाण्डेले अदालतको आदेश अनुसार फेवातालको संरक्षण र सिमाङ्कनको काम अगाडि बढाइएको बताए । उनले यो आर्थिक वर्षभित्र सबै भौतिक पोल गाड्ने योजना रहेको र त्यसपछि सौन्दर्यकरणको काम तीव्र गतिमा अघि बढ्ने जानकारी दिए ।
अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिका संयोजक समेत रहेका मुख्यमन्त्री पाण्डेले स्थानियको चिन्ता सम्बोधन हुने बताए । मुआब्जा सम्बन्धी विवरण संकलन भइरहेकाले प्रक्रिया पूरा भएपछि संघ सरकारले यसको टुंगो लगाउने उनको भनाइ छ । दूषित जग्गा प्रमाणित भएमा त्यसलाई खारेज गरिने र मुआब्जा दिनुपर्ने जग्गा छुट्याइने जानकारी उनले दिएका छन् ।
पोखराका मेयर आचार्यले पनि पोल गाड्ने काम चाँडै सम्पन्न हुने र त्यसपछि मुआब्जा तथा अन्य संरचनागत विकास अघि बढ्ने बताएका छन् । उनले पर्यटनको राजधानी पोखराको मुटु फेवातालको संरक्षणको दिशामा ऐतिहासिक कार्यको शुभारम्भ भएको बताए । पाँच दशकभन्दा अगाडिदेखि अनुत्तरित रहँदै आएको फेवातालको वास्तविक सीमा कहाँ हो भन्ने प्रश्नको विषयमा स्पष्टता ल्याउने काम प्रारम्भ भएको मेयर आचार्यको भनाई छ ।
‘झन्डै १८ महिना लगाएर फेवा तालको हाई फ्लड पोइन्ट वैज्ञानिक ढंगले निर्धारण गरी एक हजार ५५ स्थानमा डिजिटल प्रणालीमार्फत सीमा पोईन्टहरू एकिन गरिएको छ । आजबाट यी पोईन्टहरूमा स्थायी सीमा स्तम्भ गाड्ने कार्य सुरु गरिएको छ,’ मेयर आचार्यले भने ।
फेवा तालको करीब १६ किलोमिटर परिधिभित्र एकहजार ५५ पोल गाडिने र त्यसपछि मापदण्डभित्र पर्ने जग्गा र संरचनाहरूको नियमानुसार क्षतिपूर्तिको व्यवस्था गरिने उनले बताए । मेयर आचार्यका अनुसार मापदण्डबाहिर अवैधानिक रूपमा बसेकाहरूलाई भने स्थान खाली गर्न आह्वान गरिनेछ ।
समितिले अघिल्लो वर्षको सबैभन्दा बढी वर्षा भएको दिनको पानीको स्तरलाई आधार मानेर ताल किनारदेखि ६५ मिटर क्षेत्रलाई फेवातालको परिधि मानेको छ । हालको विवरण अनुसार ताल क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर अर्थात् करिब १२ हजार ४ सय ६८ रोपनी ३ पैसा ३ दाम रहेको छ।
यसअघि प्रस्तुत गरिएको प्रतिवेदनमा तालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर मात्र उल्लेख गरिएको थियो । पछिल्लो मापन अनुसार करिब १ हजार २ सय रोपनी क्षेत्र थपिएको हो ।
विगतमा २०१८ सालमा तालको क्षेत्रफल १० वर्ग किलोमिटर थियो भने पछिल्ला अध्ययनमा त्यो क्रमशः घट्दै गएको देखिन्छ । २०८० सालमा अदालतले ५.६ वर्ग किलोमिटर क्षेत्र कायम गर्न भनेको छ।
त्यस्तै, अदालतले २०३१ सालपछि दर्ता भएका जग्गा खारेज गर्न र त्यसअघि दर्ता भएका जग्गाका हकवालालाई मुआब्जा दिन निर्देशन दिएको छ। ताल क्षेत्रभित्र रहेका संरचनाहरु हटाएर त्यसको सौन्दर्यकरण गर्न पनि अदालतले आदेश दिएको छ।
पोल गाड्ने क्रम सुरु भएलगत्तै केही स्थानिय बासिन्दाले विरोध जनाएका थिए । उनीहरुले मापदण्ड निर्धारण गर्दा आफूसँग कुनै परामर्श नगरिएको भन्दै नाराबाजी गरेका थिए। ‘हामीलाई न्याय दे’, ‘मुख्यमन्त्री मुर्दावाद’ मेयर धनराज आचार्य मुर्दावाद , जस्ता नारासहित उनीहरुले कार्यक्रममा अवरोध प्रयास गरेका थिए ।





