पुम्दी-भुम्दी पर्वतीय दौडमा सुदूरपश्चिमका रावत विजयी

पोखरा। दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा सुदूरपश्चिमका नरेन्द्रसिंह रावत प्रथम भएका छन्। उनले ८ किलोमिटर दुरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र हात पारे।

उस्तै, सुदूरपश्चिमकै करण रावल ३६ मिनेट ३३ सेकेण्डमा दूरी पूरा गरी दोस्रो भए भने कर्णालीका दलबहादुर कुँवर ३७ मिनेट १६ सेकेण्डमा दौड समाप्त गर्दै तेस्रो स्थानमा रहे। निर्णायक ओमबहादुर गुरुङका अनुसार दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १५ हजारसहित मेडल र प्रमाणपत्र पाए।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पुरुषतर्फ चौथो स्थानमा पुगेका गौतम श्रेष्ठले ७ हजार प्राप्त गरे भने पाँचौं बनेका सफल लामाले ३ हजार जिते। छैटौँदेखि दशौँ स्थानसम्म क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङ रहे, जसले जनही १ हजार, मेडल र प्रमाणपत्र पाए।

विदेशी पर्यटक वर्गमा फ्रान्सका थियो डोनेटले ४९ मिनेट ५१ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जिते। भेट्रान्स समूहमा गण्डकीका किशोर थापा पहिलो भए। उनले ५१ मिनेट १ सेकेण्डमा दुरी पार गर्दै १५ हजारसहित सम्मान प्राप्त गरे।

वडा २२ स्तरमा कुशल परियार पहिलो र सुज्जल परियार दोस्रो बने। उनीहरूले क्रमशः ४९ मिनेट १५ सेकेण्ड र ५१ मिनेट ३ सेकेण्डमा दूरी पूरा गरे। महिला वर्गमा कोशीकी पदमकुमारी सुनुवारले ५३ मिनेट ३९ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन् भने बागमतीकी नीतु तामाङ ५७ मिनेट ४६ सेकेण्डमा दोस्रो भइन्। वडा र महिलातर्फ प्रथम र द्वितीय हुनेले क्रमशः १५ हजार र ७ हजारसहित मेडल र प्रमाणपत्र पाए।

यू–१६ समूहमा गण्डकीका प्रकाश थिङ (४२:५८) प्रथम, तीलबहादुर परियार (३८:००) दोस्रो र कमल पौडेल (४९:५६) तेस्रो भए। उनीहरूले क्रमशः १५ हजार, ७ हजार र ३ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा विशेष सम्मान पनि गरिएको थियो। ८२ वर्षीय पुम्दीभुम्दीका लीलबहादुर गुरुङलाई सिनियरतर्फ, र ११ वर्षीय गण्डकी बोर्डिङ स्कुलका आरोन नेपाललाई जुनियरतर्फ पुरस्कृत गरियो।

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको यस प्रतियोगितामा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो। आयोजकका अनुसार ६ विभिन्न इभेन्टमा अनलाइनमार्फत १६७ धावकले दर्ता गरेका थिए। नेपालका सातवटै प्रदेशका साथै बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका, स्पेन र क्यानडासहित ७ देशका धावक सहभागी थिए। कुल ११७ विदेशी धावकले प्रतिस्पर्धा गरेका थिए।

विश्व पर्यटन दिवसको अवसर पारेर दौड पूरा गर्ने विदेशी धावकलाई पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले माला लगाएर स्वागत गरे। प्रतियोगिता पोखरा–२२ को विश्वशान्ति स्तूपदेखि पुम्दीकोटको विशाल महादेव मूर्ति परिक्रमा गर्दै कालाबाङ घरेडी बुद्ध पार्कसम्म सम्पन्न भएको हो। दौडभर स्थानीय बासिन्दाले धावकलाई स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button