प्रहरीको ‘अपरेसन ३६५’: पोखरामा ४ सय १४ मोटरसाइकल समातिए

पछिल्लो २ दिनमा १० मोटरसाइकल नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अभियान अन्तर्गत हालसम्म ४१४ वटा मोटरसाइकल समातिएका छन् ।  यस अवधिमा ३६ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले बताएको छ ।

मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण फैलाउने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने ४१४ मोटरसाइकल र चेकजाँचका क्रममा अमर्यादित व्यवहार गर्ने ३६ जना चालकलाई कारवाही गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिएका छन्।

यसै अभियानका क्रममा पछिल्लो पटक चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले  पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको डिएसपी बस्नेतले उल्लेख गरेका छन् । नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनको भनाई छ।

कास्की प्रहरीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, समाजमा आतङ्क सिर्जना गर्ने तथा शान्ति सुरक्षामा अवरोध पुर्‍याउने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ गत असोज २७ गते देखि  ‘अपरेसन ३६५’ सुरु गरेको थियो।

अभियानसँगै प्रहरीले सहर तथा ग्रामीण क्षेत्र दुबैमा यस्ता गतिविधि रोक्न विशेष निगरानी बढाउदै अवैध रूपमा परिवर्तन गरिएका मोटरसाइकलको जानकारी नजिकको प्रहरी कार्यालयमा जानकारी दिन नागरिकलाई अनुरोध समेत गरेको थियो।

प्रहरीले सवारीधनीलाई सवारी साधनको स्वरूप परिवर्तन नगरी पूर्ववत् अवस्थामै चलाउन आग्रह गरेको छ। साथै, ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई समेत यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।

अभियान निरन्तर रुपमा संचालन हुने जानकारी दिदै प्रहरीले मोडिफाई गरिएको सवारी साधन चलाएको पाइएमा सवारीधनी र संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कारबाही गरिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button