
पोखरा न्यूज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा दैनिक उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको जानकारी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दिएका छन् ।
मेयर आचार्यले यस उपलब्धिलाई नयाँ हवाई सेवा थपिने विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसरको रुपमा अर्थ्याएका छन् ।
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि लामो समयदेखि भइरहेको प्रयास सफलताको चरणमा पुगेको उल्लेख गर्दै उनले यस अभियानमा सहयोग पुर्याउने नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटनमन्त्री गणेश पौडेल, युनिभर्सल ट्राभल्सका अध्यक्ष पराशर प्रसाई तथा सम्बन्धित सबै निकायप्रति आभार व्यक्त गरेका छन् ।
दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुने विश्वास व्यक्त गरिएको छ ।
प्राप्त अवसरलाई दिगो सफलतामा रूपान्तरण गर्न सबै सरोकारवालाको भूमिका आवश्यक रहेको मेयर आचार्यले बताएका छन् । विशेषगरी पर्यटन व्यवसायी, पोख्रेली नागरिक तथा स्वदेश–विदेशमा रहेका नेपालीलाई पोखरा–दुबई रुटबाट यात्रा गरी प्रारम्भिक चरणको चुनौती सफल बनाउन सहयोग गर्न उनले आग्रह गरेका छन् ।
मेयर आचार्यले पर्यटनको राजधानीका रूपमा परिचित पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने यो ऐतिहासिक यात्रामा सबैको साथ, सहयोग र शुभेच्छाको अपेक्षा समेत व्यक्त गरेका छन् ।





