लागुऔषध सेवन गरी यात्रु ओसार्ने बस चालक पोखरामा पक्राउ

पोखरा । लागुऔषध सेवन गरी यात्रुवाहक सार्वजनिक बस चलाइरहेका एक चालकलाई पोखरामा ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार बुधबार दिउँसो करिब २ बजे पोखरा महानगरपालिका–१० स्थित औद्योगिक क्षेत्रमा नियमित सवारी चेकजाँचका क्रममा पोखरा–दमौली रुटमा सञ्चालन भइरहेको ग१ख ९६४७ नम्बरको सार्वजनिक बसका चालकलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्ने चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी ३० वर्षीय अभिनास गुरुङ रहेका छन्। चेकजाँचका क्रममा चालक गुरुङले लागुऔषध सेवन गरी सवारी चलाएको पुष्टि भएपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय रामबजार पठाइएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ।

उक्त बसमा घटनाका बेला १८ जना यात्रु सवार रहेका थिए। ट्राफिक कार्यालयका अनुसार चालक गुरुङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनको प्रक्रिया अघि बढाउन यातायात व्यवस्था कार्यालय कास्कीमा समेत पठाइएको छ।

ट्राफिक प्रहरीले लागुऔषध वा मादक पदार्थ सेवन गरेर सवारी चलाउनु आफैं र यात्रुको ज्यानका लागि गम्भीर जोखिम हुने भन्दै यस्ता गतिविधिविरुद्ध नियमित अनुगमन तथा कडा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button